
विराटनगर । मोरङको लेटाङस्थित एक होटलमा २१ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जबरजस्ती करणी गरेको अभियोग लागेका सुन्दरहरैँचा नगरपालिका-१० का ३८ वर्षीय डम्बर खतिवडा तथा घटनामा मतियारको भूमिका निर्वाह गरेको आरोपमा विराटनगर-५ का २५ वर्षीय सोनुमा लिम्बू र केराबारी गाउँपालिका-८ का ५० वर्षीय कमलबहादुर आले मगर छन्।
प्रहरीका अनुसार साउन १७ गते मध्यराति लेटाङ नगरपालिका-१ स्थित ‘हाम्रो होटल’को कोठामा लिम्बू र आले मगरले युवतीलाई ललाइफकाइ खतिवडासँग भेट गराएका थिए। त्यसपछि ‘स्ट्रिम’ नामक पेय पदार्थमा रक्सी मिसाएर खान दिएको र तीनै जनाले ज्यान मार्ने धम्की दिएपछि खतिवडाले जबरजस्ती करणी गरेको खुलेको छ।
पीडित युवतीले साउन १८ गते इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी दिएकी थिइन्। जाहेरीलगत्तै खटिएको प्रहरी टोलीले घटनामा संलग्न तीनै जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय लेटाङमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















