
विराटनगर । प्रेस चौतारी नेपाल मोरङले यस वर्षको ‘जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार’ विराटनगरका पत्रकार पुष्पराज थपलियालाई प्रदान गर्ने निर्णय गरेको छ ।
विराटनगरमा लामो समयदेखि पत्रकारिता गर्दै आएका थपलियालाई उनले यस क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पुरस्कृत गर्न लागिएको हो । प्रेस चौतारी मोरङको बैठकले थपलियालाई नगद १५ हजार ५ सय रुपैयाँ राशिको सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको सचिव नवराज भट्टराईले जानकारी दिए ।
थपलिया प्रेस चौतारी मोरङका संस्थापक सदस्य समेत हुन् । प्रेस चौतारी मोरङले हरेक वर्ष प्रदान गर्दै आएको यो पुरस्कार आगामी साउन १५ गते एक विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने छ ।
जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कारबाट यसअघि दीपेन न्यौपाने, महेन्द्र विष्ट, ललिता भट्टराई, नरेन्द्र दाहाल, केदार चौहान, बन्धु पोखरेल, धर्मराज ढकाल, गणेश लम्साल, भूपेन्द्र तिम्सिना, रामचन्द्र अधिकारी, कमल रिमाल, किशोर बुढाथोकी, जगन्नाथ भट्टराई, तेजेन्द्र भण्डारी, सुदीप कोइराला लगायत पुरस्कृत भइसकेका छन् ।



















