सरकार ‘छाडा साँढे’ जस्तै भयो : कांग्रेस

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २०, बुधबार १४:२२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारका गतिविधिले लोकतन्त्र, सुशासन र कूटनीतिक मर्यादाको उपहास गरेको आरोप लगाएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सरकारका कामकारबाहीमाथि १० गम्भीर प्रश्न उठाए।

पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले सरकार ‘छाडा साँढे’ जस्तै व्यवहार गरिरहेको आरोप लगाए। उनले राज्य शक्तिको प्रयोग गरेर प्रेस स्वतन्त्रता कुल्चने प्रयास भइरहेको र विपक्षी दलको सभापतिको घर अगाडि गृह मन्त्रालयको सहयोगमा गाडी तेर्स्याएर अवरोध सिर्जना गरिएको भन्दै आक्रोश व्यक्त गरे।

Advertisement

कांग्रेसले राहदानी खरिद प्रकरणमा पारदर्शिता नदेखिएको र भ्रष्टाचारका प्रमाण बाहिरिँदा पनि सरकार मौन बसेको जनाएको छ। सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति निष्पक्ष छानबिन गर्न र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायलाई राजनीतिक दबाबबाट मुक्त राख्न कांग्रेसले माग गरेको छ।

यस्तै विकल्प नदिई विदेशस्थित राजदूतलाई फिर्ता बोलाउने तर लामो समयसम्म नियुक्ति गर्न नसक्नु सरकारको कूटनीतिक असक्षमता भएको कांग्रेसको ठहर छ। गृहमन्त्री जोडिएको प्रकरणमा छानबिन प्रतिवेदन सार्वजनिक नगर्दै पुनः नियुक्ति दिइएको र मन्त्रीहरूले व्यवसायीलाई धम्क्याउने कार्य गरेको चालिसेले बताए।

सुनसरी र मधेसमा भएका साम्प्रदायिक तथा सामाजिक तनावका घटनामा सरकारले बनाएको देखावटी समितिको साटो उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसले माग गरेको छ। प्रवक्ता चालिसेले सरकारका यी कदम, राजनीतिक हस्तक्षेप र कूटनीतिक अपरिपक्वताले मुलुकलाई संकटतर्फ धकेल्ने चेतावनी दिँदै उठाइएका प्रश्नको उत्तर व्यवहारबाटै दिनुपर्ने बताए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.