
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी द्वन्द्व चाँडै अन्त्य हुन सक्ने संकेत गरेका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले दुई देशबीचको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको भन्दै संघर्ष धेरै लामो नजाने बताए।
इरान आफैँले वार्ताको पहल गरेको दाबी गर्दै ट्रम्पले सम्झौता इरानका लागि सबैभन्दा उत्तम विकल्प हुने उल्लेख गरे। अमेरिकासँग हतियारको कुनै कमी नरहेको र आवश्यकताअनुसार नयाँ हतियारहरू निरन्तर निर्माण भइरहेको चेतावनी पनि उनले दिए।
समाचार एजेन्सी एपीका अनुसार अमेरिका र इरानबीच होर्मुज स्ट्रेटलाई लिएर छिट्टै सम्झौता हुने सम्भावना छ। ओमानको मध्यस्थतामा इरानसँगको सम्झौताको मस्यौदा अन्तिम चरणमा पुगेको जनाइएको छ।
इरानको संसद्मा भने अमेरिका, इजरायल र अन्य शत्रु राष्ट्रका जहाजहरूलाई होर्मुजमा प्रवेश निषेध गर्ने तथा नियम तोडेमा सामानको मूल्यको २० प्रतिशत जरिवाना तिराउने विधेयक पेस भएको छ।
सिकागो विश्वविद्यालयका प्राध्यापक रोबर्ट पेपका अनुसार ट्रम्प अहिले यस्तो मोडमा छन् जहाँ उनीसँग दुईवटा मात्र विकल्प छन्– या त इरानको बढ्दो प्रभावलाई स्वीकार गर्ने, या त युद्धलाई अझै चर्काउने। अमेरिकाले हवाई र नौसैनिक आक्रमणबाट केही सैन्य सफलता पाए पनि आफ्नो मुख्य लक्ष्य हासिल गर्न नसकेको र युद्धपछि इरान झनै बलियो भएर उदाएको पेपले बताए।



















