
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी २० औँ एसियाली खेलकुद (एसियाड) को बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूलाई आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्न आग्रह गरे ।
एसियाडमा सहभागी हुने खेलाडीहरूको तयारी र उनीहरूको अवस्थाबारे जानकारी लिन शनिबार गौशालास्थित पशुपति बुटिक पुगेका मन्त्री पोखरेलले खेलाडीहरूसँगको भेटमा सो कुरा बताएका हुन् । हाल बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूलाई पशुपति बुटिक र सिनामंगलस्थित रोयल बुटिकमा राखिएको छ ।
खेलाडीहरूलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षा र खेलकुद दुवै क्षेत्र दीर्घकालीन लगानीका क्षेत्र भएको उल्लेख गरे । ‘शिक्षा र खेलकुद आज लगानी गरेर भोलि नै नतिजा आउने क्षेत्र होइनन्,’ उनले भने, ‘तर लङ टर्म लगानीको नतिजा अवश्य देखिने छ । म खेल क्षेत्र र खेलाडीका समस्या समाधान गर्न पूर्ण प्रतिबद्ध छु ।’ सो अवसरमा उनले १० औँ राष्ट्रिय खेलकुद यसै वर्ष सम्पन्न हुने जानकारी समेत दिए ।
भेटका क्रममा टेनिस खेलाडी प्रदीप खड्काले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बस्न पाउनु गर्वको विषय भएको बताए । उनले खेलाडीको भावना प्रत्यक्ष बुझ्न खेलकुद मन्त्री स्वयं प्रशिक्षण स्थलमा उपस्थित भएकोमा धन्यवाद समेत व्यक्त गरे ।
त्यस्तै, एसियाली खेलकुदकी ऐतिहासिक रजत पदक विजेता कराँते खेलाडी एरिका गुरुङले ‘मिसन–२०२६’ को तयारीले खेलाडीहरूलाई धेरै फाइदा पुगेको बताइन् । उनले आगामी प्रतियोगितामा उत्कृष्ट नतिजा दिन खेलाडीहरूले हर सम्भव प्रयास गर्ने प्रतिबद्धता जनाइन् ।
भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टले भने प्रशिक्षकको दक्षतामा जोड दिँदै, भने, ‘अब्बल प्रशिक्षक भए मात्र अब्बल खेलाडी उत्पादन गर्न सकिन्छ, त्यसैले प्रशिक्षकहरूको क्षमता अभिवृद्धिमा पनि उत्तिकै ध्यान दिनु जरुरी छ ।’
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

























