
काठमाडौं। नेकपा (एमाले) रूपान्तरण र पुनर्संरचनाका लागि क्रियाशील ‘पुनर्जागरण अभियान-२०८२’ले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन, पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्न र निर्वाचनको निर्मम समीक्षा गर्न माग गर्दै पार्टी नेतृत्वलाई दबाब दिएको छ।
अभियानका संयोजक गजेन्द्र थपलियालगायतका नेताहरूले बुधबार पार्टी केन्द्रीय कार्यालयमार्फत अध्यक्ष केपी शर्मा ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन्। गत फागुन २१ को जनादेशपछि बदलिएको राजनीतिक परिस्थिति र पार्टीको साङ्गठनिक अवस्थाबारे ध्यानाकर्षण गराउँदै बुझाइएको पत्रमा पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको र कार्यदलका प्रतिवेदनहरू कार्यान्वयन नभएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ।
निर्वाचन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि पार्टीको केन्द्रीय कमिटी बैठक बस्न नसक्नुलाई अभियानले ‘गम्भीर र चिन्ताजनक’ भनेको छ। निर्वाचनमा व्यहोरेको पराजयको समीक्षा गरी कार्यकर्ता र जनतामा नयाँ आशा जगाउनुपर्ने समयमा निर्णय प्रक्रियामा अलमल देखिएको र यसले पार्टी एकताबद्ध एवम् सुदृढ ढङ्गले अगाडि बढ्ने कुरामा शङ्का उत्पन्न गराएको पत्रमा उल्लेख छ।
पार्टी सुदृढीकरण र पुनर्गठनका लागि २०८३ जेठ १५ गतेको सचिवालय बैठकले गठन गरेको १६ सदस्यीय कार्यदलले असार २५ गते नै प्रतिवेदन बुझाए पनि त्यसमाथि छलफल गर्न नेतृत्वले चासो नदिएको अभियानको ठहर छ। असार मसान्तभित्रै केन्द्रीय कमिटी बैठक बस्ने भनिए पनि हालसम्म बैठक नडाकिएकोमा अभियानले आपत्ति जनाएको छ।
यसैगरी, वर्तमान सरकारका अन्योलग्रस्त नीति र शासन सञ्चालनमा देखिएको अपरिपक्वताका कारण जनतामा निराशा बढ्दै गएको र राष्ट्रिय हित एवम् सुरक्षाको सवालमा चिन्ता थपिएको पत्रमा दाबी गरिएको छ।
अभियानले निर्वाचन समीक्षा र पुनर्गठन कार्यदलको प्रतिवेदनमाथि केन्द्रीय कमिटीमा छलफल गरी सार्वजनिक गर्न, अविलम्ब सचिवालय र केन्द्रीय कमिटी बैठक बोलाउन, पराजयको निर्मम समीक्षा गर्न तथा पार्टी शुद्धीकरण र पुनर्संरचनाको स्पष्ट खाका निर्माण गर्न माग गरेको छ। ‘व्यक्तिभन्दा पार्टी, पदभन्दा नीति, आग्रहभन्दा आत्मसमीक्षा र जडताभन्दा रूपान्तरण’ आजको आवश्यकता रहेको भन्दै कमजोरी स्वीकारेर जनताको विश्वास पुनः आर्जित गर्न नेतृत्वलाई आग्रह गरिएको छ।

























