विमानस्थलबाट करिब ४० किलो  ‘थाई गाँजा’ सहित ८ जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३, बुधबार ०६:५३
विमानस्थलबाट करिब ४० किलो  ‘थाई गाँजा’ सहित ८ जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजासहित ८ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । थाइल्यान्डबाट अवैध रूपमा नेपाल भित्र्याइएको ३९ किलो २८८ ग्राम उच्च स्तरको  ‘थाई गाँजा’ सहित ८ जना विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) को टोलीले विशेष सूचनाका आधारमा गत साउन ३१ गते राति उनीहरूलाई नियन्त्रणमा लिएको हो । ब्युरोका अनुसार पक्राउ पर्नेमा पाँच जना म्यानमारका र तीन जना भारतीय नागरिक रहेका छन् । थाइल्यान्डको बैंकक र फुकेटबाट छुट्टाछुट्टै उडानमार्फत काठमाडौं ओर्लिएका उनीहरूको साथबाट ठुलो परिमाणमा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

Advertisement

बैंककबाट थाइ एयरवेजको उडान नम्बर टीजी ३१९ मार्फत आएका म्यानमारका नागरिकहरू २३ वर्षीय जार नि लिन, २६ वर्षीया एइ एइ थ्वे, ३९ वर्षीय आउङ ब्वार, ३२ वर्षीया छु म्याथवाल सेन र ३२ वर्षीय जिन म्यो आउङ पक्राउ परेका छन् ।

त्यसैगरी, थाइल्यान्डकै फुकेटबाट बाटिक एयरवेजको उडान नम्बर ओडी ५४१ मार्फत आएका भारतको पंजाबका तीन नागरिक पनि समातिएका छन् । पक्राउ पर्नेमा २३ वर्षीय खुशदीप, ३२ वर्षीय गुरदीप सिंह र २६ वर्षीया कामिनी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शंका लागेर चेक गर्दा उनीहरूले बोकेको लगेजबाट ३९.२८८ केजी थाई गाँजा फेला परेको हो । प्रहरीले उनीहरूको साथबाट ८ थान राहदानी र ८ थान मोबाइलसमेत बरामद गरेको छ ।
पक्राउ परेका आठै जनाविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.