अपांगता अधिकारसम्बन्धी ‘अभ्यास अदालत’ प्रतियोगिता सुरु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३, बुधबार ०९:२९

काठमाडौं । अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी दोस्रो राष्ट्रिय अभ्यास अदालत (मुट कोर्ट) प्रतियोगिता, २०८३ को काठमाडौंमा उद्घाटन भएको छ ।

नेपाल ल क्याम्पस र नेपाल अपांग महिला संघको आयोजनामा सुरु भएको कार्यक्रममा वक्ताहरूले कानुन शिक्षण संस्थाहरू अपांगता भएका विद्यार्थीका आवश्यकताप्रति पूर्ण रूपमा जबाफदेही हुनुपर्ने र न्याय क्षेत्रका सबै सरोकारवालाहरू अपाङ्गता अधिकारप्रति संवेदनशील बन्नुपर्नेमा जोड दिए ।

Advertisement

नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख डा. श्यामबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि एवम् त्रिभुवन विश्वविद्यालय कानुन संकायका डीन प्रा. डा. डीएन पराजुलीले कानुन शिक्षण संस्थाहरूले भौतिक संरचनाका साथै शिक्षण–सिकाइ प्रक्रिया, पाठ्यक्रम, अध्ययन सामग्री र परीक्षा प्रणालीलाई अपाङ्गतामैत्री बनाउँदै विद्यार्थीहरूप्रति जबाफदेही हुनुपर्ने औँल्याए ।

त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दवाडीले अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षणका लागि कानुनी व्यवस्थाको कडाइका साथ कार्यान्वयन हुनुपर्ने बताए । कार्यक्रमका वक्ताहरूले समाज, राज्यका निकाय, न्यायिक क्षेत्र र शैक्षिक संस्थाका सम्पूर्ण सरोकारवालाहरू अपाङ्गता अधिकारप्रति संवेदनशील हुनुपर्ने धारणा राखे। साथै, कानुनका विद्यार्थीहरूलाई अध्ययन कालदेखि नै संवेदनशील बनाउँदै उनीहरूले आफ्नो व्यावसायिक जीवनमा समावेशी न्याय र अधिकारको निरन्तर पैरवी गर्न सक्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिइयो ।

प्रतियोगिताको दोस्रो सत्रमा अपाङ्गता अधिकार र न्यायमा पहुँचका विषयमा विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गरे। अधिवक्ता करुणा पराजुलीले ‘अपाङ्गताप्रति अधिकारमा आधारित दृष्टिकोण’ विषयमा बोल्दै समाजमा अझै पनि अपाङ्गतालाई दया, कल्याण वा चिकित्सा मोडलबाट हेर्ने परम्परागत सोच कायम रहेको औँल्याइन् । उनले अपाङ्गतालाई केवल सामाजिक मोडलमा सीमित नराखी पूर्ण रूपमा मानव अधिकारमा आधारित दृष्टिकोणबाट हेर्नुपर्ने र सोही अनुसार व्यवहार तथा कानुनको प्रयोग हुनुपर्नेमा जोड दिइन् ।

निर्मला धितालले ‘नेपालमा अपाङ्गता अधिकारः संवैधानिक संरचना र बुझाइ’ विषयक प्रस्तुतिमा नेपालको संविधानमा रहेका विभेदविरुद्धका मुख्य संवैधानिक प्रावधानहरू र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ ले स्पष्ट गरेका १० प्रकारका अपाङ्गताबारे चर्चा गरिन् । कानुनी व्यवस्थाका बाबजुद समाजमा कायमै रहेका निरन्तरका सामाजिक तथा संरचनागत अवरोधहरूलाई कसरी बुझ्ने र तिनको समाधान कसरी गर्ने भन्ने विषयमा उनले स्पष्ट पारिन् ।

‘नेपालमा अपाङ्गता भएका महिला तथा बालिकाको न्यायमा पहुँचको अवस्था र चुनौती’ प्रस्तुत गर्दै मीना पौडेलले नेपाल अपाङ्ग महिला संघद्वारा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गरिन् । अपाङ्गता भएका महिला तथा बालबालिकाहरू लैङ्गिक आधारमा र अपाङ्गताका कारण दोहोरो विभेद तथा हिंसाको शिकार हुनुपरेको यथार्थ उजागर गर्दै न्याय प्राप्तिमा उनीहरूले भोगिरहेका जटिलताबारे उनले चर्चा गरिन् ।

अधिवक्ता डा. विद्या चापागाईंले ‘अपाङ्गता अधिकारका बहुआयमिक पक्षहरू’ माथि प्रकाश पार्दै अपाङ्गताको विषय केवल एउटा छुट्टै कानुनी वा सामाजिक क्षेत्र मात्र नभई मानवाधिकार, आर्थिक पहुँच, शिक्षा, स्वास्थ्य, रोजगारी र नीति निर्माणका हरेक पक्षसँग अन्तरसम्बन्धित रहेको स्पष्ट पारिन्। अन्तरसम्बन्धित विभेदको सिद्धान्तलाई व्याख्या गर्दै उनले अपाङ्गता भएका व्यक्तिहरूले उमेर, लिङ्ग, भौगोलिकता र आर्थिक अवस्थाका आधारमा फरक-फरक स्तरका चुनौती भोग्नुपर्ने भएकाले न्याय प्रणाली र राज्यका नीतिहरू पनि बहुआयमिक र समावेशी हुनुपर्नेमा जोड दिइन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.