
काठमाडौं। प्रतिनिधि सभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ बहुमतले पारित गरेको छ। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित उक्त विधेयक पारित भएको हो।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकको दफा २ अर्थात् साविकको व्यवस्था जगाउने सम्बन्धी व्यवस्थालाई निर्णयार्थ प्रस्तुत गरेका थिए। उक्त दफाको पक्षमा बहुमत सांसदहरूले ध्वनि मत प्रकट गरेपछि सभामुख अर्यालले विधेयक पारित भएको घोषणा गरे।
राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफल हुँदा विधेयकमा कुनै पनि संशोधन प्रस्ताव नपरेकाले प्रतिवेदनमाथि थप निर्णय गरिरहनु नपरेको जानकारी सभामुखले सदनलाई गराएका थिए। पारित हुनुअघि विधेयकको प्रस्तावना र नामलाई समेत निर्णयार्थ प्रस्तुत गरिएको थियो।
विधेयक पारित भएसँगै नेपाल विशेष सेवा (गुप्तचरी निकाय) सँग सम्बन्धित २०४२ सालको ऐनका केही महत्त्वपूर्ण कानुनी व्यवस्थाहरू पुनर्जीवित हुने भएका छन्। राष्ट्रिय सुरक्षा र सूचना संकलनलाई थप प्रभावकारी बनाउन साविकका व्यवस्थाहरूलाई ब्युँताउनु आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो।

























