उच्च अदालत धनकुटा इजलासमा फैसला र आदेश अनलाइनमै हेर्न सकिने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २८, बिहीबार १४:२८

विराटनगर। उच्च अदालत विराटनगर धनकुटा इजलासले मुद्दाका फैसला र आदेश अनलाइनमार्फत तत्कालै हेर्न सकिने व्यवस्था सुरु गरेको छ। यससँगै धनकुटा इजलाससहित मातहतका भोजपुर, संखुवासभा, तेह्रथुम र धनकुटा जिल्ला अदालतका सेवाग्राहीले पनि डिजिटल माध्यमबाट आदेश तथा फैसला प्राप्त गर्न सक्ने भएका छन्।

उच्च अदालत विराटनगर धनकुटा इजलासका रजिस्ट्रार शोभाकर खरेलका अनुसार सेवाग्राहीलाई सहजता प्रदान गर्न सर्वोच्च अदालतले साउन १८ गतेदेखि देशभर लागू हुने गरी डिजिटल पहुँच व्यवस्था सुरु गरेको हो। सर्वोच्च अदालतको वेबसाइटमार्फत सम्बन्धित अदालत छनोट गरी मुद्दाको आदेश तथा फैसला हेर्न र आवश्यक परे नक्कलसमेत निकाल्न सकिने उनले बताए।

Advertisement

धनकुटा इजलासका मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले आदेश र फैसला लगत्तै कागजात अनलाइनमा अपलोड गरिने जानकारी दिए। ‘यसअघि फैसला वा आदेशको प्रतिलिपि लिन अदालतमै पुग्नुपर्ने बाध्यता थियो। नयाँ व्यवस्थाले टाढाका सेवाग्राहीलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउनेछ,’ उनले भने।

यसैबीच न्यायिक कार्यसम्पादनलाई प्रभावकारी बनाउन धनकुटा इजलासले उत्कृष्ट काम गर्ने न्यायाधीश तथा कर्मचारीलाई पुरस्कृत गरेको छ। सम्मानित हुनेहरूमा उच्च अदालत विराटनगर धनकुटा इजलासकी न्यायाधीश मीना गौतम सेढाई, जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र इङनाम र उच्च अदालतका अधिकृत दिवेश श्रेष्ठ छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.