रास्वपाद्वारा संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३, बुधबार १४:४९
रास्वपाद्वारा संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संसदीय दलको विधान संशोधनका लागि एक कार्यदल गठन गरेको छ । बुधबार पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा बसेको संसदीय दलको अनौपचारिक बैठकले मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा उक्त कार्यदल गठन गरेको हो ।

संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार कार्यदललाई विधानको आवश्यकताअनुसार संशोधन गरी नयाँ कार्यविधि तयार गर्न सात दिनको समय सीमा दिइएको छ । रास्वपाको विधान २०८३ लाई परिमार्जन गर्दै सांसदहरूलाई संसद्मा अझ बढी प्रभावकारी, जिम्मेवार र जनपक्षीय रूपमा प्रस्तुत गराउने मुख्य उद्देश्यले यो कदम चालिएको हो ।

Advertisement

उपनेता पराजुलीले भने, ‘संसद्मा सांसदहरूको उपस्थिति, मर्यादा, जिम्मेवारी र कानुन निर्माणको प्रक्रियालाई अझ सशक्त र प्रभावकारी बनाउन विधानमा आवश्यक संशोधन गर्न लागिएको हो। कार्य दलले सात दिनभित्र कार्यविधि तयार गर्नेछ।’

बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको कामकारबाही र सांसदहरूको संसदीय भूमिकाबारे पनि विस्तृत छलफल भएको थियो । बैठकमा मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयबाट भए गरेका कामहरूको विवरण प्रस्तुत गरेका थिए भने सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा देखिएका समस्या र जनताका गुनासाहरू राखेका थिए ।

सरकारले गरिरहेका कामहरू प्रभावकारी रूपमा जनतासम्म पुग्न नसकेको विषयमा पनि बैठकमा समीक्षा गरिएको छ । ‘सरकारले काम गरिरहेको भए पनि ती कामहरू किन जनतासम्म प्रभावकारी रूपमा पुग्न सकेका छैनन् र सरकार तथा सांसदबीच कहाँ समन्वयको कमी भइरहेको छ भन्ने विषयमा पनि छलफल जारी छ,’ पराजुलीले जानकारी दिए ।

रास्वपाले संसद्मा आफ्नो भूमिकालाई थप सशक्त बनाउन र पार्टीको आन्तरिक व्यवस्थापनलाई बलियो बनाउन विधान संशोधनलाई प्राथमिकता दिएको देखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×