
काठमाडौं। जय नेपाल पार्टीले आगामी असोजभित्र देशका ७७ वटै जिल्लामा तदर्थ जिल्ला कार्यसमिति गठन गर्ने निर्णय गरेको छ। सभापति डा. धवलशम्सेर राणाको अध्यक्षतामा काठमाडौँमा बसेको प्रथम केन्द्रीय कार्यसमिति बैठकले सङ्गठन विस्तारसँगै युवा, महिला तथा जेन-जीसहितका जनवर्गीय सङ्गठन, विभाग र समितिहरू गठन गर्ने निर्णय गरेको हो।
बैठकले जिल्ला समिति गठनका लागि केन्द्रीय सदस्यहरूसहितको टोली खटाउने र अनलाइनमार्फत पार्टी सदस्यता लिन सकिने विद्युतीय प्रणाली निर्माण गर्ने निर्णय गरेको छ।
यस्तै पार्टीले संवैधानिक राजसंस्था र हिन्दू अधिराज्यका पक्षमा जनमत सिर्जना गर्न देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ। संविधान संशोधनका लागि सरकारमाथि जनदबाब सिर्जना गर्ने निर्णय गर्दै पार्टीले संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रका पक्षमा वातावरण बनाउने जनाएको छ।
यसैगरी राष्ट्रिय जनावर गाईको संरक्षणका लागि दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने, गौहत्या तथा गाईको मासु बिक्री-वितरणमा रोक लगाउन राज्यलाई दबाब दिने र सातै प्रदेशमा सुविधासम्पन्न गौशाला निर्माणका लागि जनमत सिर्जना गर्ने निर्णयसमेत बैठकले गरेको छ।
सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्रलाई मूल आधार बनाएर राष्ट्रिय एकता, स्थिरता र समुन्नतिको लक्ष्य हासिल गर्ने उद्देश्यसहित आफूलाई अघि सारेको पार्टीले जनाएको छ।

























