कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्का सर्वोच्चमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ५, शुक्रबार १४:२३

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चर्किरहेका बेला १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन्। पार्टीको संस्थापन पक्षले अन्य समूहसँग पर्याप्त छलफल नगरी एकपक्षीय रूपमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको भन्दै देउवा र खड्काले त्यसलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका हुन्।

रिट दर्ताका लागि देउवाका तर्फबाट वारेसका रूपमा कांग्रेस नेता दीपक खड्का र पूर्णबहादुर खड्काका तर्फबाट अधिवक्ता श्रवणकुमार सर्वोच्च पुगेका छन्। कांग्रेसको इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले रिट सर्वोच्चमा पुगिसकेको जानकारी दिए।

Advertisement

निवेदनमा कांग्रेसको महाधिवेशनसम्बन्धी हालै सार्वजनिक गरिएको प्रक्रिया तथा कार्यतालिका कार्यान्वयन नगर्न ‘उत्प्रेषणको आदेश’ माग गरिएको छ।संस्थापन पक्षले भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ। उक्त कार्यतालिका एकपक्षीय रूपमा ल्याइएको भन्दै देउवा तथा नेता डा. शेखर कोइराला पक्षले असहमति जनाउँदै आएको छ।

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले केही समयअघि पुनरावलोकनको आदेश दिएको थियो। त्यसपछि संस्थापन पक्षले अन्य समूहसँग पर्याप्त संवाद र सहमति नगरी महाधिवेशनको कार्यतालिका अघि बढाएको आरोप असन्तुष्ट पक्षले लगाउँदै आएको छ। यसैबीच, देउवा र नेता डा. शेखर कोइरालाबीच शुक्रबार बिहान चुनदेवीमा भेटवार्ता भएको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×