
काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले पार्टी सञ्चालन पद्धति र नेपालको वामपन्थी आन्दोलनको अवस्थामाथि प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै बास्कोटाले पार्टी कसैको निजी स्वामित्वमा चल्ने संस्था नभएको बताएका छन्। उनले नेतृत्व कमजोर हुँदा अधिकारको कुरा गर्ने र बलियो भएपछि अरूको आवाजलाई ‘अराजकता’को संज्ञा दिने प्रवृत्ति राजनीतिमा निरन्तर देखिँदै आएको टिप्पणी गरेका छन्।
बास्कोटाले नेपालको समग्र वामपन्थी आन्दोलनको वर्तमान अवस्थाप्रति पनि चिन्ता व्यक्त गरेका छन्। उनले अहिलेका वामपन्थी पार्टीहरूलाई २०१७ देखि २०२७ सालसम्मको नेपाली कम्युनिस्ट आन्दोलनसँग तुलना गर्दै ‘क्रसरोडमा उभिएको यात्री’ जस्तो अवस्थामा पुगेको बताएका छन्।
उनको टिप्पणीले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास, नेतृत्वको कार्यशैली र वामपन्थी दलहरूको आगामी राजनीतिक दिशामाथि बहसको संकेत गरेको छ।

























