
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेका छन् ।
ओलीको अध्यक्षतामा बुधबार बसेको एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको उद्धार र राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र तत्काल परिचालन गर्न माग गरेको हो । ओलीका अनुसार बाढीका कारण महिला, बालबालिका, विद्यार्थी, पर्यटक, सुरक्षाकर्मी तथा कर्मचारीसहित ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएका छन् भने केही घाइते भएका छन् ।
रसुवाको टिमुरे बजारलगायत क्षेत्रमा सयौँ घर तथा पसल, पशुपन्छी, भन्सार कार्यालय, प्रहरी चौकी, दूरसञ्चार टावर, सडक, पुल, जलविद्युत् आयोजना, विद्युत्गृह तथा सबस्टेसन र कृषि क्षेत्रमा ठूलो क्षति पुगेको उनले बताएका छन् । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र पूर्वी नवलपरासीका नदी तटीय क्षेत्र अझै जोखिममा रहेको ओलीले बताएका छन् ।
उनले जोखिम क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन, सुरक्षित स्थानमा जान, जोखिमपूर्ण यात्रा नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेका छन् । विपद्मा परेका नागरिकको जीवनरक्षा राज्यको पहिलो दायित्व भएकाले बेपत्ताको खोजी, जोखिममा रहेकाको स्थानान्तरण, घाइतेको उपचार र प्रभावितको पुनःस्थापनाका लागि आवश्यक सबै साधनस्रोत तत्काल परिचालन गर्नुपर्ने ओलीको भनाइ छ ।
उनले सरकारले तत्कालीन र दीर्घकालीन राहतको प्याकेज घोषणा गर्नुपर्ने मागसमेत गरेका छन् । संघ, प्रदेश र स्थानीय सरकारसँगै जनप्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्था र आमनागरिकबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताएका छन् ।
बाढी प्रभावितको उद्धार, घाइतेको निःशुल्क तथा प्रभावकारी उपचार र राहत सामग्री तत्काल उपलब्ध गराउन सबै पक्ष सक्रिय हुनुपर्ने ओलीको अपिल छ । यसैबीच, एमालेका नेता, कार्यकर्ता, जनसंगठनका सदस्य तथा जनप्रतिनिधिलाई प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतमा सक्रिय रूपमा परिचालन हुन ओलीले निर्देशन दिएका छन् ।
स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी मानवीय सहायता कार्यमा अग्रपंक्तिमा खटिन उनले आग्रह गरेका छन् । कुनै पनि बहानामा ढिलाइ नगरी उद्धार कार्यलाई तीव्रता दिन र प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री तत्काल पुर्याउन ओलीले आग्रह गरेका छन् ।

























