
विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टिस्पेशियालिटी हस्पिटलले आफ्नो २६ औँ वार्षिकोत्सवको अवसरमा उदयपुरको गाईघाटमा विविध सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू आयोजना गरेको छ । ‘पूर्वी नेपालका हरेक नागरिकको घरदैलोसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने’ उद्देश्यका साथ अस्पतालले गाईघाटमा उत्सव मनाएको हो ।
वार्षिकोत्सवको सुरुवात बिहान ‘न्युरो २६ गाईघाट रन’ मिनी म्याराथनबाट गरिएको थियो । स्वास्थ्य सचेतना जगाउने उद्देश्यले आयोजित उक्त दौडमा २०६ जना धावकहरूले उत्साहजनक सहभागिता जनाएका थिए । प्रतियोगिताका उत्कृष्ट स्थान हासिल गर्ने विजेताहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
म्याराथनपश्चात् आयोजित विशेष समारोहमा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन महत्त्वपूर्ण योगदान दिने १०० भन्दा बढी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा स्थानीय स्वास्थ्यकर्मीहरूलाई सम्मान गरियो ।

यसैगरी, अस्पतालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय जनप्रेमी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको छ । विद्यालय परिसरमा साइकल पार्किङ स्ट्यान्ड निर्माण गरी दिनुका साथै खानेपानी तथा शौचालय संरचना सुधार र मर्मत सम्भारका लागि आर्थिक सहयोग समेत हस्तान्तरण गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
समारोहमा त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत, जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्रकुमार भगत, जिल्ला अस्पताल उदयपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राई, न्युरो अस्पतालका अध्यक्ष तथा वरिष्ठ कन्सल्टेन्ट न्यूरोलोजिस्ट डा. वीरेन्द्रकुमार विष्ट, कार्यकारी निर्देशक डा. अनिशा विष्ट र अपरेसनल डाइरेक्टर राजेश भट्टराई लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख बस्नेतले ठुला सहरमा सीमित विशेषज्ञ स्वास्थ्य सेवालाई गाउँ घरसम्म पुर्याएकोमा अस्पतालको प्रशंसा गरे । अस्पतालकी कार्यकारी निर्देशक डा. अनिशा विष्टले पूर्वी नेपालका जनतालाई सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिन अस्पताल सदैव प्रतिबद्ध रहेको बताइन् ।
वार्षिकोत्सव अभियानको अन्तिम चरणमा स्थानीय नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । शिविरमा वरिष्ठ न्यूरोसर्जन डा. रोशन खतिवडा, अर्थोपेडिक सर्जन डा. अमित देव, जनरल सर्जन डा. प्रज्ज्वल खतिवडा, जनरल फिजिसियन डा. रमाकान्त राय, नाक, कान, घाँटी रोग विशेषज्ञ डा. आशिषराज विष्ट, तथा डेन्टल र म्याक्सिलोफेसियल सर्जनद्वय डा. अमितप्रताप साह र डा. जितेन्द्र मण्डल लगायतका विशेषज्ञ टोलीले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा स्वास्थ्य परीक्षणका साथै निःशुल्क परामर्श र औषधि समेत वितरण गरिएको थियो ।


























