बाढी प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिन नदिन विशेष निगरानी

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १६, मंगलबार २१:१३
वन क्षेत्रमा शव व्यवस्थापन गरिँदै कास्की,१६ भदौः भोटेकोशी बाढीपछि खोजी तथा उद्दारका क्रममा भेटिएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि ल्याइएका शव पहिचान हुन नसकेपछि मङ्गलबार पोखरा-१६ लामाचौर जौवारीको वन क्षेत्रमा शव व्यवस्थापन गरिँदै तस्बिरः कृष्ण दवाडी/रासस बाढी यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको हो ।

काठमाडौं । सरकारले रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा सम्भावित संक्रामक रोगहरू फैलिन नदिन विशेष निगरानी र प्रतिकार्यका गतिविधिलाई तीव्रता दिएको छ।

स्वास्थ्य तथा स्वच्छता मन्त्रालयका सहसचिव हेमन्तचन्द्र ओझाका अनुसार मन्त्रालयको स्वास्थ्य संकटकाल तथा विपद् व्यवस्थापन एकाइ र स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले प्रभावित क्षेत्रमा संक्रामक रोग नियन्त्रण तथा स्वास्थ्य प्रतिकार्यको नेतृत्व गरिरहेका छन्।

Advertisement

“बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको प्रकोप रोकथामका लागि मन्त्रालयले विपद्–पश्चात् सरुवा रोग निगरानी तथा प्रतिकार्य योजना स्वीकृत गरिसकेको छ, उक्त योजनालाई प्रभावकारी रूपमा लागू गर्न प्रदेश तथा जिल्ला तहका सम्बन्धित स्वास्थ्य अधिकारीलाई आवश्यक अभिमुखीकरण समेत प्रदान गरिएको छ”, उनले भने। उनका अनुसार विपद्को दोस्रो दिनमै चिकित्सकको कमाण्डमा विशेष स्वास्थ्य टोली रसुवा र नुवाकोट जिल्लाहरूमा परिचालन गरिएको थियो।

उनका अनुसार संक्रामक रोगको निगरानी र नियन्त्रणलाई प्रभावकारी बनाउन निगरानी प्रमुखको नेतृत्वमा ‘फिल्ड इपिडेमोलोजी ट्रेनिङ प्रोग्राम’ बाट प्रशिक्षित दुई जना जनशक्तिसहितको दुई वटा विशेष टोली रसुवा र नुवाकोटमा खटाइएको छ।

यसका साथै, विश्व स्वास्थ्य संगठनको सहयोगमा थप दुई जना मेडिकल निगरानी अधिकारी परिचालन गरेको छ। साथै, युनिसेफसँगको सहकार्यमा खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी गतिविधिहरूको समीक्षा गरी आवश्यक रोकथामका कार्यहरू अघि बढाइएको उनको भनाइ छ।

बाढी प्रभावित क्षेत्रहरूमा ज्वरो तथा झाडापखालाजन्य रोगहरूको नियमित र कडा अनुगमन गर्न ‘निगरानी, प्रकोप प्रतिकार्य व्यवस्थापन तथा विश्लेषण प्रणाली–सोरमास’ सञ्चालनमा ल्याइएको छ। यस्तै, र्‍यापिड रेस्पोन्स कमिटीको बैठक बसी परिस्थितिको निरन्तर आकलन भइसकेको उनले जानकारी दिए।

स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले प्रभावित क्षेत्रमा संक्रामक रोग नियन्त्रणका अतिरिक्त अन्य अत्यावश्यक स्वास्थ्य सेवाहरू जस्तै १०२ वटा एम्बुलेन्सहरूको परिचालन, मानसिक स्वास्थ्य परामर्शका लागि ३० जना स्वास्थ्यकर्मीको टोली परिचालित भएको मन्त्रालयले जनाएको छ।

साथै, प्रभावित क्षेत्रमा गएर सेनाले स्वास्थ्य सतर्कता अपनाउन माइकिङ गर्दै सचेतना गराइरहेको छ। यसैगरी राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रले स्वास्थ्य सुरक्षासम्बन्धी जनचेतनामूलक सूचना प्रवाह गरिरहेको जनाइएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×