विपद्को राहत र उद्धारमा नेपाललाई निरन्तर सहयोग गर्ने चीनको प्रतिबद्धता

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १७, बुधबार १७:१०

काठमाडौं । चीनले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि आफ्नो सहयोग निरन्तर रहने जनाएको छ । साथै, विपद् जोखिम न्यूनीकरण तथा रोकथामका क्षेत्रमा नेपालसँगको सहकार्य थप मजबुत बनाउने चीनले प्रतिबद्धता जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कुओ चियाकुनले नियमित पत्रकार सम्मेलनमा नेपालमा आएको पछिल्लो विपत्तिको कारण दीर्घकालीन जलवायु तापक्रम वृद्धिका कारण हिमनदी अस्थिर हुनु रहेको प्रारम्भिक मूल्यांकनले देखाएको बताए । नेपाल–चीन सीमा क्षेत्रमा पर्ने तिब्बतको सिगात्से क्षेत्रमा भएको हिमनदी पतन तथा हिमालय क्षेत्रमा बढ्दो हिमनदी पग्लिने जोखिमबारे चीनको धारणा र नेपालले अघि सारेको ‘हिमालय परिषद्’ गठनको प्रस्तावबारे सोधिएको प्रश्नको जवाफ दिँदै कुओले यस्तो बताएका हुन् ।

Advertisement

उनका अनुसार नेपालमा रहेको एक हिमनदीमा बरफ र चट्टानसहितको ठूलो पहिरो तीव्र गतिमा तल झरेर पहाडको भिरालो भाग बगाएपछि विपत्ति निम्तिएको थियो । चीन र नेपालका सम्बन्धित विज्ञले गरेको प्रारम्भिक संयुक्त मूल्यांकनले दीर्घकालीन जलवायु तापक्रम वृद्धिबाट उत्पन्न हिमनदीको अस्थिरतालाई घटनाको मुख्य कारण देखाएको उनले बताए ।

कुओले चीन र नेपालबीच मौसम विज्ञान, जलस्रोत तथा विपद् रोकथाम र न्यूनीकरणका क्षेत्रमा लामो समयदेखि सहकार्य हुँदै आएको बताए। पछिल्लो विपत्तिपछि चीनले प्रभावित क्षेत्रका तस्बिर, उपग्रहबाट प्राप्त सूचना, जलविज्ञानसम्बन्धी तथ्यांक तथा माथिल्लो क्षेत्रमा बनेको अवरोधयुक्त तालसम्बन्धी पूर्वसूचनालगायत महत्वपूर्ण जानकारी नेपालसँग साझा गरेको उनले जानकारी दिए ।

उनका अनुसार विपद् व्यवस्थापनमा तत्काल राहत र उद्धारसँगै भविष्यमा यस्ता घटना न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली, वैज्ञानिक सूचना आदानप्रदान र जलवायुजन्य जोखिमको संयुक्त अध्ययन आवश्यक छ । जलवायु परिवर्तन सम्पूर्ण मानवजातिले सामना गरिरहेको साझा चुनौती भएको उल्लेख गर्दै कुओले कुनै पनि देश यसको प्रभावबाट अछुतो रहन नसक्ने बताए। चीनले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर वैज्ञानिक आदानप्रदान र सहकार्यलाई निरन्तरता दिने तथा जलवायु परिवर्तनका प्रतिकूल प्रभाव रोकथाम र न्यूनीकरणका लागि प्रयास गर्ने उनको भनाइ थियो ।

नेपालले हिमालय क्षेत्रमा बढ्दो जलवायु जोखिम सम्बोधन गर्न छिमेकी मुलुकहरूको संयुक्त संयन्त्रका रूपमा ‘हिमालय परिषद्’ गठन गर्नुपर्ने प्रस्ताव अघि सारेको सन्दर्भमा सोधिएको प्रश्नमा कुओले उक्त विशेष प्रस्तावबारे सम्बन्धित सक्षम निकायसँग प्रश्न गर्न सकिने बताए । चीनको पछिल्लो भनाइले हिमालय क्षेत्रमा बढ्दो हिमनदी अस्थिरता र त्यसबाट उत्पन्न हुने बाढी, पहिरो तथा अन्य विपद्को जोखिमलाई नेपाल–चीन सहकार्यको महत्वपूर्ण विषयका रूपमा अघि बढाउने संकेत गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×