
विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टिस्पेसियलिटी हस्पिटलले रसुवा र नुवाकोटका बाढीपीडितहरूको सहयोगका लागि २१ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्रदान गरेको छ ।
गत भदौ १० गते रसुवा र नुवाकोट जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि अस्पतालले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा २१ लाख १ सय ११ रुपैयाँ सहयोग गरेको हो ।
अस्पतालका अध्यक्ष एवं वरिष्ठ न्युरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्टले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारी स्तरबाट भइरहेको आपत्कालीन राहत अभियानलाई बल पुर्याउन यो सहयोग उपलब्ध गराइएको अस्पताल प्रशासनले जनाएको छ ।
सहयोग रकम हस्तान्तरणका क्रममा डा. विष्टले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे । उनले यस कठिन घडीमा बाढीपीडितहरूको शीघ्र राहत, स्वास्थ्य सेवा र दिगो पुनर्स्थापनाका लागि न्युरो अस्पताल परिवार सधैँ प्रतिबद्ध रहने स्पष्ट पारे ।

























