
काठमाडौं । ह्वाट्सएपले अकाउन्ट ह्याक, फिसिङ र अनलाइन ठगीको जोखिम कम गर्न नयाँ सुरक्षा सुविधा थपेको छ ।
नयाँ अपडेटअनुसार अब प्रयोगकर्ताले दुई चरणीय प्रमाणीकरणमा प्रयोग हुने ६ अंकको पिनको सट्टा अक्षर, अंक र विशेष चिन्हसहितको लामो पासवर्ड राख्न सक्नेछन् । यसले पासवर्ड अनुमान गर्न कठिन बनाउने कम्पनीको विश्वास छ ।
त्यसैगरी, एउटै ह्वाट्सएप अकाउन्टमा एकभन्दा बढी पासकी राख्न सकिने सुविधा पनि थपिएको छ । आईओएस र एन्ड्रोइड दुवै प्रयोगकर्ताले यो सुविधा प्रयोग गर्न सक्नेछन् ।
ह्वाट्सएपले सन् २०२४ मा सुरु गरेको पासकी प्रणालीले पासवर्डको सट्टा फेस आईडी वा फिङ्गरप्रिन्टमार्फत अकाउन्टमा लगइन गर्न सकिने सुविधा दिएको थियो । कम्पनीका अनुसार यसले प्रयोगकर्ता नाम र पासवर्ड चोरी गरेर हुने फिसिङ आक्रमणको जोखिम घटाउँछ ।
नयाँ अपडेटमा अपरिचित नम्बरबाट आउने कलबारे थप जानकारी देखाउने सुविधा पनि थपिएको छ । यसले शंकास्पद कल पहिचान गर्न प्रयोगकर्तालाई सहयोग गर्ने कम्पनीले जनाएको छ । अनलाइन ठगी र ह्याकिङका घटना बढ्दै गएपछि ह्वाट्सएपसँगै सिग्नल र टेलिग्रामजस्ता मेसेजिङ प्लेटफर्मले पनि अकाउन्ट सुरक्षाका नयाँ उपाय थपिरहेका छन् ।

























