साउदीलाई हराउँदै नेपाल सेमिफाइनलमा, एक खेल बाँकी छँदै अन्तिम चारमा

Share this
637shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २१, आइतबार १४:०८

काठमाडौं । नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो खेलमा जित निकाल्दै नेपालले प्रतियोगिताको अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा आइतबार भएको खेलमा नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गर्‍यो । साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

Advertisement

नेपालको जितमा गुल्शन झाले महत्वपूर्ण योगदान दिए । उनले ४४ रन बनाए । देव खनालले ३९ तथा ईशान पाण्डेले ४० रनको योगदान गरे । कप्तान रोहित पौडेल २४ रनमा अविजित रहे । त्यस्तै आसिफ शेखले २० र अर्जुन कुमालले १५ रन बनाए ।

नेपालले लक्ष्य पछ्याउने क्रममा सुरुवातदेखि नै संयमित ब्याटिङ गरेको थियो । मध्यक्रमका ब्याटरले इनिङ्स सम्हालेपछि नेपालले सहज रूपमा लक्ष्य पूरा गर्‍यो ।

साउदी अरेबियाका इश्तियाक अहमद र मुहम्मद आतिफले दुई–दुई विकेट लिए भने मोहम्मद शेखले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनाएको थियो । नेपालको बलिङ आक्रमणसामु साउदीको ब्याटिङ लामो समय टिक्न सकेन ।

लगातार तीन खेलमा जित हात पारेसँगै नेपालले एक खेल खेल्न बाँकी छँदै सेमिफाइनलको यात्रा तय गरेको हो । अब नेपालले समूह चरणको अन्तिम खेलमा आफ्नो प्रदर्शनलाई निरन्तरता दिने लक्ष्य राख्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×