विदेशका नेपालीको सहयोगमा धनकुटा अस्पतालमा रक्तसञ्चार सेवा

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २२, सोमबार ०९:१६

विराटनगर । धनकुटा जिल्ला अस्पताल स्थापना भएको ११३ वर्षपछि पहिलोपटक अस्पताल परिसरमै रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा आएको छ । सेवा सुरु भएपछि उपचारका क्रममा आवश्यक रगतका लागि सुनसरी र मोरङ पुग्नुपर्ने धनकुटावासीको बाध्यता हट्ने भएको छ ।

विसं १९७० मा स्थापना भएको अस्पतालमा करिब डेढ दशकअघिदेखि रक्तसञ्चार सेवा सञ्चालनको प्रयास हुँदै आए पनि आवश्यक पूर्वाधार, उपकरण, जनशक्ति र मापदण्ड पूरा हुन नसक्दा सेवा सुरु हुन सकेको थिएन ।

Advertisement

आवश्यक व्यवस्था पूरा भएपछि कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले रक्तसञ्चार सेवा केन्द्रको उद्घाटन गरेका हुन् ।

रक्तसञ्चार केन्द्र सञ्चालनका लागि देश तथा विदेशमा रहेका नेपाली र विभिन्न संघसंस्थाबाट १६ लाख ४५ हजार ४२८ रुपैयाँ संकलन भएको छ । गैरआवासीय नेपाली संघ -एनआरएनए) सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतको पहलमा सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो ।

अमेरिका, जापान, किर्गिस्तान, क्यानडा, अष्ट्रेलिया, हङकङ, चीनलगायत देशमा रहेका नेपाली तथा संघसंस्थाले सहयोग गरेका छन् ।

उपलब्ध विवरणअनुसार क्यानडाबाट एक लाख १० हजार रुपैयाँ सहयोग संकलन भएको छ । त्यसमध्ये एनआरएनए क्यानाडाले एक लाख र निवर्तमान अध्यक्ष माधव दुलालले १० हजार रुपैयाँ सहयोग गरेका थिए ।

अस्पताल विकास समितिका अध्यक्ष निरेन तामाङका अनुसार रक्तसञ्चार केन्द्रमा २४ सै घण्टा सेवा उपलब्ध गराउन चार जना प्राविधिक तथा कर्मचारीको व्यवस्था गरिएको छ । केन्द्रका लागि आवश्यक भवन र उपकरणसमेत व्यवस्थापन गरिएको छ ।

धनकुटामा रक्तसञ्चार सेवा नहुँदा आकस्मिक उपचारका क्रममा बिरामीका आफन्तले रगतका लागि सुनसरी र मोरङलगायतका जिल्लामा पुग्नुपर्ने अवस्था थियो । नयाँ सेवा सुरु भएपछि धनकुटा तथा आसपासका बिरामीलाई आकस्मिक अवस्थामा रगत व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×