
विराटनगर । जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको छ । भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता, जवाफदेहिता, रोजगारी र राजनीतिक सुधारको माग गर्दै गत वर्ष भदौ २३ र २४ गते भएको आन्दोलनले देशको राजनीतिक परिदृश्य नै बदल्यो। आन्दोलनपछि सरकार परिवर्तन भयो र नयाँ राजनीतिक नेतृत्व सत्तामा आयो ।
एक वर्षपछि आन्दोलनमा उठाइएका माग कति सम्बोधन भए त ? नयाँ सरकारप्रति युवाको अपेक्षा के छ ? आन्दोलनमा सहभागी वा त्यसलाई नजिकबाट नियालेका विराटनगरका जेनजी पुस्ताका युवासँग गरिएको कुराकानीमा उनीहरूले सरकारका केही काम सकारात्मक देखिए पनि अपेक्षाअनुसार परिवर्तन हुन अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।
‘आन्दोलनको सफलता सरकार परिवर्तनमा मात्र होइन’

जेनजी आन्दोलनलाई केवल सरकार परिवर्तनको आन्दोलनका रूपमा बुझ्न नहुने बताउँछिन् दिक्षा राजवंशी । उनका अनुसार आन्दोलन युवाको सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, जवाफदेहिता र भविष्यप्रतिको असन्तुष्टिको अभिव्यक्ति थियो ।
नयाँ सरकारले सुशासन, प्रशासनिक सुधार, डिजिटल सेवा र सार्वजनिक सेवा प्रवाहमा सुधारका प्रयास गरिरहेको देखिए पनि योजना घोषणा गर्नु र त्यसको प्रत्यक्ष परिणाम नागरिकले महसुस गर्नु फरक कुरा भएको उनको भनाइ छ ।
‘बालेन शाहको नेतृत्वमा सरकार बनेपछि पुरानो राजनीतिक संस्कारभन्दा फरक, पारदर्शी र जवाफदेही शासन हुन्छ भन्ने अपेक्षा थियो,’ राजवंशी भन्छिन्, ‘विशेषगरी भ्रष्टाचार नियन्त्रण, युवाका लागि रोजगारी र अवसर, सरकारी सेवामा सहजता तथा आन्दोलनमा उठेका न्यायसम्बन्धी प्रश्नको निष्पक्ष समाधान हुनुपर्छ। ’
महिला हिंसा तथा गम्भीर प्रकृतिका अपराधमा पीडितले छिटो न्याय पाउने व्यवस्था हुनुपर्नेमा पनि उनी जोड दिन्छिन् । अपराधको प्रकृतिअनुसार कडा कानुनी व्यवस्था र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनको भनाइ छ ।
जेनजी आन्दोलनका सहिद परिवार र घाइतेका माग सम्बोधन गर्न कार्यदल गठन हुनु सकारात्मक भए पनि उनीहरूको न्याय र दीर्घकालीन समस्या समाधान भएको छ कि छैन भन्ने कुरा परिणामबाटै मूल्याङ्कन गर्नुपर्ने राजवंशी बताउँछिन् ।
‘जेनजी आन्दोलनले परिवर्तनको ढोका खोल्यो। तर यसको वास्तविक सफलता सरकार परिवर्तनमा मात्र होइन, देशमा सुशासन, न्याय, रोजगारी, पारदर्शिता र जवाफदेहिता स्थायी रूपमा स्थापित हुनुमा छ,’ उनी भन्छिन् । ‘अब सरकारले भाषणभन्दा परिणाम देखाउनुपर्छ ।’
‘सहमति भएका बुँदा कार्यान्वयन हुनुपर्छ’

विराटनगरका दयानन्द यादव नयाँ सरकारले आन्दोलनका क्रममा भएका सहमति र प्रतिबद्धता कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने बताउँछन् । काममा पारदर्शिता कायम गर्दै आवश्यकताअनुसार छिटो निर्णय र कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।
‘पहिलेको सरकारजस्तो कछुवाको गतिमा होइन, आवश्यक ठाउँमा छिटो काम हुनुपर्छ । कुन काम कति छिटो गर्नुपर्छ भन्ने प्राथमिकता छुट्याएर अघि बढ्नुपर्छ,’ यादव भन्छन् ।
युवाका लागि रोजगारी र देशमै स्वरोजगारको वातावरण बनाउनुपर्नेमा पनि उनी जोड दिन्छन् । औद्योगिक क्षेत्रको विकास र रोजगारीका अवसर सिर्जना गर्न सके युवाको विदेश पलायन रोक्न सहयोग पुग्ने उनको अपेक्षा छ ।
नयाँ सरकारले केही काम अघि बढाइरहेकाले आफू आशावादी रहेको र आगामी दिनमा अझ प्रभावकारी काम हुने विश्वास रहेको यादव बताउँछन् ।
‘भ्रष्टाचार अन्त्य गरेर युवालाई देशमै अवसर दिनुपर्छ’

मुख्य अपेक्षा सरकारसँग सुशासन कायम गर्ने र भ्रष्टाचार अन्त्य गर्ने छ । देशमा शान्ति र रोजगारीको वातावरण बन्नुपर्ने मिलन बजगाईंको भनाइ छ ।
‘भ्रष्टाचारको अन्त्य हुनुपर्छ। चेलीबेटी असुरक्षित हुने अवस्था अन्त्य गरी सबैले सुरक्षित महसुस गर्ने वातावरण बनाउनुपर्छ,’ बजगाईं भन्छन् ।
कृषि, पर्यटन र जलविद्युत् क्षेत्रमा रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै उनी साना व्यवसायी तथा सडक व्यवसायीले पनि सहज रूपमा आफ्नो काम गर्न पाउने वातावरण बनाउनुपर्ने बताउँछन् ।
‘सरकार परिवर्तन भयो, अब परिणाम देखिनुपर्छ’

लक्ष्मी श्रेष्ठका अनुसार जेनजी आन्दोलनको मुख्य उद्देश्य सरकार परिवर्तन मात्र थिएन । भ्रष्टाचार नियन्त्रण, सुशासन, राजनीतिक विकृति र बेथितिको अन्त्य तथा राज्यका निकायलाई जनउत्तरदायी बनाउनु आन्दोलनका प्रमुख मुद्दा थिए ।
उनको बुझाइमा आन्दोलनपछि राजनीतिक नेतृत्व परिवर्तनसँगै केही सकारात्मक सुरुवात भएको छ । सुशासन, पारदर्शिता र राज्यका विभिन्न क्षेत्रमा खुला प्रतिस्पर्धाबाट नेतृत्व छनोट गर्ने प्रयासले सकारात्मक सन्देश दिएको उनी बताउँछिन् ।
तर जनताले अपेक्षा गरेजस्तो तत्कालै ठूलो परिवर्तन हुन नसकेको उनको भनाइ छ । नयाँ सरकारका सबै प्रतिनिधि अनुभवी र अपेक्षाअनुसार प्रभावकारी बन्न नसक्दा केही गुनासा पनि देखिएको उनी बताउँछिन् ।
‘आन्दोलनका सबै माग एकैपटक र पूर्ण रूपमा सम्बोधन हुन्छन् भन्ने हुँदैन । तर सुरु भएका सकारात्मक प्रयासलाई परिणाममुखी बनाउनु आवश्यक छ,’ श्रेष्ठ भन्छिन् ।
‘परिवर्तन एकै रातमा हुँदैन, सरकारलाई समय दिनुपर्छ’

आन्दोलनपछि बनेको सरकारले अघि बढाएका कामलाई सकारात्मक रूपमा लिन्छन् सुदीप गुप्ता । तर आन्दोलनका सबै माग तत्कालै पूरा हुन्छन् भन्ने अपेक्षा राख्न नहुने उनको बुझाइ छ ।
‘भ्रष्टाचार अन्त्य, सुशासन, पारदर्शिता र राजनीतिक नेतृत्वको जवाफदेहिताजस्ता माग एकैचोटि पूरा हुने विषय होइनन् । यसका लागि समय लाग्छ,’ गुप्ता भन्छन् ।
उनका अनुसार अहिले बितेको समय आन्दोलनका माग कार्यान्वयनका लागि पर्याप्त छैन । त्यसैले सरकारले अघि बढाएका कामको परिणाम हेर्न केही समय दिनुपर्ने उनको धारणा छ ।
‘अहिले भइरहेका धेरै काम जेनजीले उठाएका मागकै हितमा देखिन्छन् । आगामी दिनमा अझ राम्रा काम हुने आशा छ,’ उनी भन्छन् ।

























