
विराटनगर । जिल्ला अस्पताल खोटाङलाई ५० शय्याको अस्पतालका रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्न माग गर्दै कोशी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीलाई ज्ञापनपत्र बुझाइएको छ । अस्पताल विकास तथा व्यवस्थापन समितिले अस्पतालको अनुगमनमा आएका मन्त्री पराजुलीलाई भेटी जिल्लावासीको सहज स्वास्थ्य सेवाका लागि सो माग राखेको हो ।
विशेषज्ञ र पर्याप्त स्वास्थ्य सेवाको अभावमा सामान्य उपचारका लागि समेत साढे ३ लाख रुपैयाँसम्म खर्चेर हेलिकप्टर चार्टर गरी जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको भन्दै समितिले मन्त्रीको ध्यानाकर्षण गराएको छ । समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले तत्काल ५० शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, चिकित्सा उपकरण, प्राविधिक जनशक्ति र दरबन्दी स्वीकृत गर्न माग गरेका छन् ।
दिक्तेलमा निर्माणाधीन ५० शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार तत्काल व्यवस्थापन गर्नुपर्ने, विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीको दरबन्दी मापदण्डअनुसार स्वीकृत गरी पदपूर्ति गर्नुपर्ने समितिको माग रहेको अध्यक्ष राईले जानकारी दिए ।
त्यस्तै, अत्याधुनिक स्वास्थ्य उपकरण तथा प्रयोगशाला सेवा विस्तार, आकस्मिक तथा विशेषज्ञ स्वास्थ्य सेवाको व्यवस्था र अस्पताल सञ्चालनका लागि आवश्यक बजेट तथा स्रोत सुनिश्चित गर्नुपर्ने माग पत्रमा उल्लेख छ ।
समितिले अस्पताल सञ्चालनका लागि विभिन्न शीर्षकमा बजेटको समेत माग गरेको छ । फर्निचर तथा फिक्स्चरका लागि २० लाख, फिजियोथेरापी उपकरणका लागि १५ लाख, डेन्टल सेवा उपकरणका लागि १५ लाख र प्रयोगशाला (हेमाटोलोजी तथा माइक्रोबायोलोजी) को औजार तथा उपकरण खरिदका लागि २५ लाख रुपैयाँ आवश्यक रहेको बताइएको छ ।
२०४९ सालमा १५ शय्याबाट सुरु भएको यस अस्पताललाई २०८२ असार २२ गते तत्कालीन मन्त्री भूपेन्द्र राईले ५० शय्यामा स्तरोन्नतिको घोषणा गरे पनि हालसम्म सो सेवा कार्यान्वयनमा आउन सकेको छैन । निर्माणाधीन भवन अलपत्र पर्दा र आवश्यक उपकरण अभाव हुँदा स्थानीयले सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा समेत विरोध जनाउँदै आएका छन् ।
ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री पराजुलीले मन्त्रालय फर्किएपछि अस्पतालको समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। जिल्लाको मुख्य व्यापारिक केन्द्र दिक्तेलमा गुणस्तरीय अस्पताल सञ्चालन भएमा नागरिकको आर्थिक भार कम हुने र समयमै उपचार पाउने विश्वास राजनीतिक दलका प्रतिनिधिहरूले व्यक्त गरेका छन् ।

























