
काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर मेन्स कपमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ। हारका बाबजुद यसअघि नै लगातार तीन खेल जितेको नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २४६ रन मात्र बनाउन सक्यो । नेपालका लागि इशान पाण्डेले सर्वाधिक ९० रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै, आशिफ शेखले ४४, दीपेन्द्र सिंह ऐरीले २५, करण केसीले २१ र गुलशन झाले २० रन जोडे । बलिङतर्फ हङकङका अइजज खानले ४ विकेट लिए ।
यसअघि क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको हङकङले ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको थियो । हङकङका बाबर हयातले विष्फोटक ब्याटिङ गर्दै ७ चौका र ७ छक्काको मद्दतमा अविजित ११७ रनको शतकीय पारी खेले । यस्तै शाहिद वसिफले ४५ र एहसान खानले ३५ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ४ र शेर मल्लले ३ विकेट लिए ।
नेपालले यसअघि बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको थियो । अब बिहीबार हुने सेमिफाइनलमा समूह ‘ए’ को विजेता नेपालले ओमनको सामना गर्नेछ भने हङकङले यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

























