
झापा । जापानिज इन्सेफलाइटिस (जेई) संक्रमणबाट झापामा थप एक बालकको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–८ का ८ वर्षीय अविनाश टुडूको उपचारका क्रममा मृत्यु भएको भद्रपुर नगर स्वास्थ्य शाखाले जनाएको छ ।
अविनाशलाई भदौ ८ गते उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना गरिएको थियो । अस्पतालमा गरिएको परीक्षणबाट जापानिज इन्सेफलाइटिस संक्रमण पुष्टि भएपछि थप उपचारका लागि उनलाई भदौ १० गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।
धरानमा करिब १४ दिन उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि परिवारले उनलाई घर ल्याएको थियो । घरमै राखेर उपचार तथा हेरचाह भइरहेको अवस्थामा शुक्रबार उनको मृत्यु भएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
अविनाशको मृत्युसँगै झापामा जापानिज इन्सेफलाइटिस संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा हालसम्म १४ जनामा जेई संक्रमण पुष्टि भएको छ ।
यसअघि मेचीनगरमा दुई जना तथा बिर्तामोड, बाह्रदशी, अर्जुनधारा र हल्दीबारीमा एक–एक जनाको जेई संक्रमणबाट मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा जेई संक्रमणसँगै मृत्यु हुनेको संख्या बढेपछि स्वास्थ्य कार्यालयले संक्रमण नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
कार्यालयका अनुसार आगामी असोज ५ गतेदेखि जिल्लाका लक्षित क्षेत्रमा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिनेछ । स्वास्थ्य कार्यालय झापाका प्रमुख ब्रिजकुमार दासका अनुसार अभियानअन्तर्गत ३० वर्षमाथिका करिब ४ लाख ९३ हजार ३ सय १९ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
अभियानलाई प्रभावकारी बनाउन आवश्यक तयारी अघि बढाइएको उनले बताए । जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो । संक्रमण भएपछि उच्च ज्वरो आउने, टाउको दुख्ने, बेहोस हुने तथा स्नायुसम्बन्धी गम्भीर समस्या देखिन सक्ने चिकित्सकहरू बताउँछन् ।

























