
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज (सोमबार) देशभर शिव–पार्वतीको पूजाआराधना गरी मनाइँदैछ । तीजका अवसरमा पशुपतिनाथसहित देशभरका महादेवका मन्दिरमा बिहानैदेखि व्रतालु महिलाको भिड लागेको छ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी भगवान् शिव र पार्वतीको पूजा तथा उपासना गरेमा सुख, शान्ति, पारिवारिक कल्याण र मनोकामना पूरा हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति पाउने उद्देश्यले गौरीघाटमा कठोर तपस्या गरेको र साथीहरूले हरण गरी लुकाएको स्थानमा निराहार व्रत बसेर महादेवलाई प्राप्त गरेको पौराणिक कथासँग तीजको सम्बन्ध जोडिएको छ ।
धर्मशास्त्रअनुसार संस्कृतका ‘हरित’ र ‘आलिका’ शब्दबाट ‘हरितालिका’ बनेको मानिन्छ । ‘हरित’को अर्थ हरण गरिएको र ‘आलिका’को अर्थ साथी भन्ने हुन्छ । पार्वतीलाई साथीहरूले हरण गरी सुरक्षित स्थानमा लगेको दिन भाद्र शुक्ल तृतीया भएकाले त्यही दिनदेखि हरितालिका व्रतको परम्परा सुरु भएको धार्मिक मान्यता छ ।
तीजको व्रत निराहार, जलाहार र फलाहार गरी तीन प्रकारले लिन सकिने धर्मशास्त्रविद्हरू बताउँछन् । स्वास्थ्य अवस्था कमजोर भएका वा निराहार बस्न नसक्नेले पानी, फलफूल तथा अन्य सात्त्विक आहार लिएर पनि व्रत बस्न सक्ने उनीहरूको भनाइ छ । ‘व्रत गर्दा आफ्नो स्वास्थ्यको समेत रक्षा गर्नुपर्छ’ भन्ने धर्मशास्त्रीय मान्यतालाई ध्यान दिनुपर्ने उनीहरू बताउँछन् ।
तीजको व्रत श्रीमानको दीर्घायुका लागि मात्र बसिने भन्ने बुझाइ पनि पूर्ण नभएको धर्मशास्त्रविद्हरूको भनाइ छ । अटल सौभाग्य, सन्तान प्राप्ति तथा अविवाहित महिला र पुरुषले असल जीवनसाथी प्राप्तिको कामनासमेत तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको उनीहरू बताउँछन् । परिवारको सुख, शान्ति र कल्याणका लागि व्रतको महत्व रहेको धार्मिक मान्यता छ ।
तीज पर्वको औपचारिक सुरुवात दर खाने परम्पराबाट हुन्छ । तीजको व्रत बस्नेहरूले अघिल्लो दिन विशेष परिकार बनाएर दर खाने गर्छन् । विशेषगरी माइती तथा दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाएर दर खुवाउने परम्परा छ । शास्त्रीय रूपमा भने भाद्र शुक्ल द्वितीयाको राति दर खाने समय तोकिएको बताइन्छ ।
हरितालिका तीज महिलाको धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई सामाजिक अभिव्यक्तिको माध्यमसमेत बन्दै आएको छ । परम्परागत रूपमा महिलाले वर्षभरि भोगेका दुःख, पीडा, मर्का र सामाजिक विभेदलाई गीतमार्फत व्यक्त गर्ने अवसरका रूपमा तीजलाई प्रयोग गर्दै आएका छन् । पछिल्लो समय भने तीज महिला स्वतन्त्रता, समानता र सशक्तीकरणसँग पनि जोडिन थालेको छ ।
पछिल्ला वर्षहरूमा तीजका नाममा बढ्दो तडकभडक र उच्छृङ्खलताप्रति भने आलोचना हुँदै आएको छ । महिनौं अघिदेखि दर खाने, महँगा गरगहना तथा पोसाक प्रदर्शन गर्ने प्रवृत्तिले पर्वको मौलिकता कमजोर बनाएको संस्कृतिविद् तथा धर्मशास्त्रीहरूको भनाइ छ । यस्तो प्रदर्शनले आर्थिक अवस्था कमजोर भएका वर्गमा हीनभावना र सामाजिक दबाबसमेत सिर्जना गर्न सक्ने भएकाले तीजलाई मौलिक संस्कृति र सामाजिक सद्भाव कायम हुने गरी मनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
पहिले हिन्दू महिलाले मात्र मनाउने पर्वका रूपमा रहेको तीज पछिल्लो समय धर्म र समुदायको सीमाभन्दा बाहिरसमेत विस्तार हुँदै गएको छ । अहिले विभिन्न समुदायका महिलाले समेत तीजलाई सांस्कृतिक पर्वका रूपमा मनाउन थालेका छन् ।
तीज पर्व तृतीयाको हरितालिका व्रतपछि चौँथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि समापन हुन्छ । यसरी धार्मिक आस्था, पारिवारिक सम्बन्ध, महिला अभिव्यक्ति र सामाजिक संस्कृतिसँग जोडिएको तीज नेपाली समाजमा महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको छ ।



















