
भोजपुर । बाँदरको आतंकका कारण परम्परागत अन्नबाली जोगाउन मुस्किल भएपछि भोजपुरका किसानले खेती गर्ने शैली नै परिवर्तन गर्न थालेका छन् । मकै, कोदो, धानदेखि विभिन्न फलफूलसम्म बाँदरले नष्ट गर्न थालेपछि किसानले विकल्पका रूपमा बेसार खेतीलाई रोज्न थालेका हुन् ।
विशेषगरी तल्लो भेग तथा जंगल आसपासका क्षेत्रमा बाँदरको समस्या बढी भएकाले ती क्षेत्रमा बेसार खेती विस्तार हुन थालेको छ । भोजपुर नगरपालिका–५ बोखिमका किसान नवराज फुँयालका अनुसार बाँदरबाट अन्नबाली जोगाउन निरन्तर निगरानी गर्नुपर्ने भए पनि बेसारमा त्यस्तो समस्या छैन ।
‘मकै, कोदो जस्ता खेती बाँदरबाट जोगाउनै मुस्किल छ,’ उनले भने, ‘बेसारको गानो जमिनमुनि फल्ने भएकाले बाँदरले नष्ट गर्न सक्दैन । त्यसैले बाँदरको समस्या भएका ठाउँमा बेसार खेती राम्रो विकल्प बन्न थालेको छ ।’
बेसार खेतीबाट आम्दानीसमेत राम्रो हुन थालेपछि किसानको आकर्षण थप बढेको छ । भोजपुर नगरपालिका–५ की किसान मैयानानी न्यौपानेका अनुसार उत्पादन भएको बेसार स्थानीय बजारमै बिक्री हुने गरेको छ । उनका अनुसार अहिले स्थानीय बजारमा बेसारको पीठो प्रतिकुरुवा १०० देखि १२० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।
उत्पादनपछि बजार खोज्नुपर्ने समस्या नभएपछि किसानहरू बेसार खेतीप्रति उत्साहित भएका हुन् । जंगल नजिकका खेतबारीमा वर्षौंदेखि अन्य बाली लगाउने र बाँदरबाट जोगाउने समस्या रहँदै आएको थियो । बाली लगाएको केही समयमै बाँदरको समूह आएर नष्ट गरिदिने भएपछि कतिपय खेतबारीसमेत बाँझिन थालेका थिए ।
किसान भीमप्रसाद न्यौपानेका अनुसार बाँदरले अन्नबाली नष्ट गरे पनि बेसारलाई खासै असर गर्दैन । ‘बेसार जमिनमुनि फल्छ र बाँदरले पनि मन पराउँदैन । त्यसैले बाँदर प्रभावित क्षेत्रमा यो सुरक्षित बालीका रूपमा देखिएको छ,’ उनले भने ।
किसानका अनुसार बेसार खेतीमा धेरै लगानी र मिहिनेत आवश्यक पर्दैन । औषधीय गुणसमेत भएको बेसार लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले पनि यसको खेती किसानका लागि उपयोगी बनेको छ । बाँदरको प्रकोपका कारण बिस्तारै बाँझिन थालेका खेतबारीमा बेसार लगाएर उत्पादन र आम्दानी दुवै बढाउन सकिने सम्भावना किसानले देखेका छन् ।
बाँदरको समस्या भएका क्षेत्रमा बेसार खेती विस्तार हुँदै गए स्थानीय स्तरमै रोजगारी र आम्दानी बढाउनसमेत सहयोग पुग्ने किसानको अपेक्षा छ । उनीहरूका अनुसार स्थानीय तह र कृषि ज्ञान केन्द्रले उन्नत जातको बीउ, खेती प्रविधि तथा बेसार प्रशोधनका लागि आवश्यक मेसिन उपलब्ध गराउन सके भोजपुरमा यसको व्यावसायिक उत्पादन अझ विस्तार गर्न सकिन्छ ।
अन्नबाली जोगाउन नसक्ने अवस्थामा पुगेका किसानका लागि बेसार अहिले वैकल्पिक बाली मात्र नभई बाँझिँदै गएका खेतबारीलाई पुनः उत्पादनमा ल्याउने माध्यमसमेत बन्न थालेको छ ।

























