
काठमाडौं । हरितालिका तीजको अवसरमा देशभरका प्रमुख शिवालयमा सोमबार बिहानैदेखि भक्तजनको भिड बढेको छ । तीजको व्रत बसेका महिला तथा अन्य भक्तजन शिवालयमा पूजाआजा र दर्शनका लागि पुगेपछि मन्दिर तथा आसपासका क्षेत्रमा चहलपहल बढेको हो । भक्तजनको भिडलाई मध्यनजर गर्दै सुरक्षा निकायले देशभरका प्रमुख शिवालयमा सुरक्षा व्यवस्था कडा बनाएका छन् ।
काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा बिहान ३ः१५ बजेदेखि नै दर्शनार्थीका लागि चारवटै ढोका खुला गरिएको थियो । बिहान ७ बजेसम्म करिब ९ हजार दर्शनार्थीले पशुपतिनाथको दर्शन गरिसकेका छन् भने करिब ३ हजार दर्शनार्थी दर्शनका लागि लाइनमा रहेको प्रहरीले जनाएको छ ।
पशुपति क्षेत्रमा दर्शनार्थीको व्यवस्थापन, सूचना प्रवाह, हराएका व्यक्तिको खोजी तथा परिवारसँग पुनर्मिलन, स्वास्थ्य सेवा र ट्राफिक व्यवस्थापनका लागि प्रहरी परिचालन गरिएको छ । सुरक्षा निगरानीका लागि सीसीटीभी, ड्रोन तथा सञ्चार प्रविधिको प्रयोग गरिएको छ । सादा पोसाकका प्रहरीसहित महिला, पुरुष र विपद् उद्धार प्रहरी परिचालन गरी मन्दिर तथा आसपासका क्षेत्रमा निगरानी बढाइएको छ ।

पशुपति क्षेत्रमा दुई सिफ्टमा सुरक्षा व्यवस्था मिलाइएको छ । त्यसका लागि २ हजार ५ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ भने एक सिफ्टमा करिब १ हजार २ सय ५० प्रहरी खटिएका छन् ।
यसैगरी, सशस्त्र प्रहरी बल नेपालले पशुपति क्षेत्रमा सुरक्षा, स्वास्थ्य, खानेपानी तथा उद्धारका लागि करिब ८ सय जनशक्ति परिचालन गरेको छ । सशस्त्र प्रहरीले बिहानका राति २ बजेदेखि नै दर्शनार्थी व्यवस्थापन, शान्ति सुरक्षा र स्वास्थ्य सेवाका लागि जनशक्ति परिचालन गरिएको जनाएको छ ।
मन्दिर परिसरमा नेपाल एपीएफ अस्पताल बलम्बुबाट महिला चिकित्सकसहितको मेडिकल टोली र एम्बुलेन्स तैनाथ गरिएको छ । खानेपानीको व्यवस्था गर्न प्रधान कार्यालयबाट ट्यांकरसहितको टोली परिचालन गरिएको छ । यस्तै, पशुपति क्षेत्रको राम मन्दिरनजिक बागमती नदी किनारमा गोताखोरसहितको उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ ।
तीजको अवसरमा देशका अन्य प्रमुख शिवालयमा पनि भक्तजनको भिड बढेको छ । मन्दिर परिसर तथा आसपासका क्षेत्रमा कुनै अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा निकायले सादा पोसाकका सुरक्षाकर्मी परिचालनसहित नियमित गस्ती बढाएका छन् । मन्दिर प्रवेश, पार्किङ, यातायात व्यवस्थापन तथा भिड नियन्त्रणका लागि स्थानीय प्रशासन, प्रहरी र सशस्त्र प्रहरीले समन्वयमा काम गरिरहेका छन् ।
पशुपति क्षेत्रअन्तर्गत तिलगंगा, जय बागेश्वरी, गुह्येश्वरी, विश्वरूपा मन्दिर, गौरीघाटलगायतका क्षेत्रमा समेत शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि गस्ती बढाइएको छ । सुरक्षा निकायबीच समन्वयका लागि पशुपति मन्दिर परिसरमा कमान्ड पोस्ट स्थापना गरिएको छ ।
तीजका अवसरमा बिहानैदेखि देशभरका शिवालयमा भक्तजनको संख्या बढेकाले मन्दिर आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको हो । भक्तजनलाई सहज रूपमा पूजाआजा तथा दर्शन गर्ने वातावरण बनाउन सुरक्षा निकायले भिड व्यवस्थापन, स्वास्थ्य, उद्धार र ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखेका छन् ।



















