मोरङमा धानखेतको आली हुँदै नेपाल भित्राउँदै गर्दा सात हजार चल्ला बरामद

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३१, बुधबार १२:५८

विराटनगर । रातको अँध्यारोमा धानखेतको आली समातेर भारतबाट नेपालतर्फ ल्याइँदै गरेको ब्रोइलर कुखुराका सात हजार चल्ला मोरङमा बरामद भएको छ । खुला सीमाको फाइदा उठाउँदै कुखुरा तथा चल्लाको अवैध ओसारपसार भइरहेको पछिल्लो उदाहरणका रूपमा यसलाई हेरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बीओपी सिक्टी मोरङबाट खटिएको टोलीले बुधबार बिहानका राति करिब २ः५० बजेतिर सुनवर्षी नगरपालिका–८ हरिश्चन्द्रगढीस्थित सीमा क्षेत्रमा १४ वटा भार बनाएर ल्याइँदै गरेको चल्ला बरामद गरेको हो । प्रहरी टोलीलाई देखेपछि चल्ला ल्याउने व्यक्तिहरू भारततर्फ फरार भएका थिए ।

Advertisement

बेवारिसे अवस्थामा १४० कार्टुन चल्ला बरामद गरिएको र त्यसमा सात हजारवटा ब्रोइलरका चल्ला रहेको जानकारी सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले बताए । उनका अनुसार बरामद चल्लाको अनुमानित मूल्य करिब सात लाख रुपैयाँ रहेको छ । बरामद चल्ला क्वारेन्टाइन, कुखुरा व्यवसायी र जनप्रतिनिधिलगायतको उपस्थितिमा नष्ट गरिने भण्डारीले बताए ।

भारतबाट चोरबाटो हुँदै कुखुरा तथा चल्ला भित्रिने समस्या मोरङमा नयाँ भने होइन । केही वर्षयता यस क्षेत्रमा अवैध रूपमा भारतीय कुखुरा, चल्ला र कुखुराजन्य वस्तु भित्रिने गरेको व्यवसायीले गुनासो गर्दै आएका छन् । सहायक बाटो हुँदै भारतीय कुखुरा तथा चल्ला भित्र्याएर विभिन्न बजारसम्म पुर्‍याउने गरिएको व्यवसायीको भनाइ छ ।

सुनसरी इटहरीका पोल्ट्री व्यवसायी रमेश थापाका अनुसार भारतबाट अवैध रूपमा तयारी कुखुरा र चल्ला भित्र्याउने क्रमले नेपाली किसान र व्यवसायीलाई प्रत्यक्ष असर गरिरहेको छ । भारतबाट सस्तोमा कुखुरा तथा चल्ला ल्याएर बजारमा पुर्‍याउने भएपछि नेपालमा उत्पादन गर्ने किसानले लागतअनुसारको मूल्य पाउनसमेत कठिन हुने गरेको उनले बताए ।

‘भारतसँग कुनै पनि किसिमले प्रतिस्पर्धा गर्न सकिँदैन । खुला सीमाको फाइदा उठाउँदै तस्करीमा संलग्नहरूले सस्तोमा कुखुरा र चल्ला भित्र्याएर बजारसम्म पुर्‍याउँदा नेपाली किसान र व्यवसायी संकटमा परेका छन्,’ थापाले भने ।

उनका अनुसार सीमा क्षेत्रमा निगरानी प्रभावकारी बनाउन र अवैध आयात नियन्त्रण गर्न व्यवसायीले सरकारसँग पटकपटक माग गर्दै आएका छन् । अवैध आयातका कारण एउटा पक्ष मात्र नभई किसान, ह्याचरी, दाना उद्योग, कुखुरा व्यापारी र मासु व्यवसायसम्म असर पुग्ने उनको भनाइ छ ।

भारतबाट आउने कुखुरा तथा चल्लाको विषय मूल्यको प्रतिस्पर्धासँग मात्र जोडिएको छैन । पशुपन्छीको आयातमा पशु स्वास्थ्य तथा क्वारेन्टाइनको विषयसमेत जोडिन्छ । पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ ले आयात गरिने पशु तथा पशुजन्य सामग्रीलाई तोकिएको अवधिसम्म क्वारेन्टाइनमा राखी परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । आवश्यक स्वास्थ्य तथा रोगसम्बन्धी प्रमाणपत्र नहुँदा क्वारेन्टाइन अधिकारीले त्यस्ता पशु वा पशुजन्य सामग्रीको प्रवेश रोक्न सक्ने व्यवस्था पनि छ ।

पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ अनुसार अन्तर्राष्ट्रिय नाकाबाट पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री आयात हुँदा क्वारेन्टाइन जाँचको व्यवस्था छ । पंक्षी तथा एकदिने चल्लाका लागि समेत स्वास्थ्यसम्बन्धी प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

विराटनगरस्थित पशु क्वारेन्टाइन कार्यालयले भारतलगायत तेस्रो मुलुकबाट जोगबनी, भण्टाबारी र माडर नाकाबाट नेपाल भित्रिने पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीमा संक्रामक रोग भए–नभएको र निर्धारित मापदण्ड पूरा भए–नभएको जाँच गरी क्वारेन्टाइन प्रमाणपत्र दिने गर्छ । यसरी निर्धारित नाकाबाट स्वास्थ्य परीक्षण र क्वारेन्टाइन प्रक्रिया पूरा नगरी खेतका आली, सहायक बाटो र सीमा क्षेत्रका अन्य अनौपचारिक बाटो प्रयोग गरेर चल्ला भित्र्याउँदा पशुपंक्षीजन्य रोगको जोखिमसमेत बढ्ने छ ।

विशेषगरी कुखुरामा फैलिन सक्ने संक्रामक रोगको जोखिमका कारण अवैध आयात नियन्त्रणलाई व्यवसायीले आर्थिक विषयसँगै स्वास्थ्य सुरक्षासँग जोडेर हेर्नुपर्ने बताउँदै आएका छन् । नेपालका विभिन्न सीमावर्ती क्षेत्रमा भारतीय कुखुरा र चल्लाको अवैध आयातविरुद्ध व्यवसायीले आवाज उठाउँदै आएका छन् । व्यवसायीले भारतबाट चोरबाटो हुँदै आउने सस्तो कुखुराका कारण स्थानीय किसानले बजार र उचित मूल्य गुमाइरहेको गुनासो गरेका छन् ।

सीमावर्ती क्षेत्रमा भारतमा उत्पादित चल्ला, कुखुरा र अण्डाको आयातमा प्रतिबन्ध तथा स्वास्थ्यसम्बन्धी जोखिम हुँदाहुँदै पनि सहायक एवं चोर बाटो प्रयोग गरेर अवैध रूपमा भित्र्याउने क्रम नरोकिएको थापाले बताए । मोरङमा एकैपटक सात हजार चल्ला बरामद हुनु सीमा क्षेत्रमा भइरहेको कारोबारको एउटा दृश्य मात्र हुन सक्ने उनको आशंका छ ।

सीमा क्षेत्रमा रातको समयमा हुने ओसारपसार, सहायक बाटोको प्रयोग र बजारसम्म पुगिसकेपछि स्रोत लुकाउने प्रवृत्तिमाथि प्रभावकारी निगरानी हुन नसके अवैध कारोबार नियन्त्रण गर्न कठिन हुने देखिन्छ । किसानले उत्पादन गरेको कुखुरा तथा चल्लाले उचित मूल्य नपाउने र अवैध रूपमा भित्रिएको उत्पादनले बजार ओगट्ने अवस्था कायम रहे त्यसको असर अन्ततः नेपाली पोल्ट्री क्षेत्रको लगानी र रोजगारीसम्म पुग्ने थापाले बताए ।

सीमा क्षेत्रमा नियमित निगरानी, पशु क्वारेन्टाइनको प्रभावकारी कार्यान्वयन र अवैध आयातको स्रोतसम्म पुग्ने अनुसन्धानलाई सँगसँगै अघि बढाउनुपर्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
संसदीय समितिको प्रतिवेदन सरकारले गम्भीरतापूर्वक लिनुपर्छः थापा
सर्तसहित सार्वजनिक यात्रुवाहक सवारीको दर्ता खुला
भोटेकोशी बाढीको वैज्ञानिक आधार खोज्न विज्ञ समिति गठनको तयारी
रास्वपा सांसद प्रसाईंको प्रश्नः विषम परिस्थितिमा सरकार किन गैरजिम्मेवार ?
मोरङका ५ सहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण
सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने सहमति
भारतीय राजदूत श्रीवास्तवको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट
राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन सर्वसम्मत पारित
उदयपुरमा ट्रक र हायस ठोक्किँदा १७ जना घाइते
घुस प्रकरणमा सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष र उनका छोराविरुद्ध आरोपपत्र
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×