
विराटनगर । रातको अँध्यारोमा धानखेतको आली समातेर भारतबाट नेपालतर्फ ल्याइँदै गरेको ब्रोइलर कुखुराका सात हजार चल्ला मोरङमा बरामद भएको छ । खुला सीमाको फाइदा उठाउँदै कुखुरा तथा चल्लाको अवैध ओसारपसार भइरहेको पछिल्लो उदाहरणका रूपमा यसलाई हेरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बीओपी सिक्टी मोरङबाट खटिएको टोलीले बुधबार बिहानका राति करिब २ः५० बजेतिर सुनवर्षी नगरपालिका–८ हरिश्चन्द्रगढीस्थित सीमा क्षेत्रमा १४ वटा भार बनाएर ल्याइँदै गरेको चल्ला बरामद गरेको हो । प्रहरी टोलीलाई देखेपछि चल्ला ल्याउने व्यक्तिहरू भारततर्फ फरार भएका थिए ।
बेवारिसे अवस्थामा १४० कार्टुन चल्ला बरामद गरिएको र त्यसमा सात हजारवटा ब्रोइलरका चल्ला रहेको जानकारी सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले बताए । उनका अनुसार बरामद चल्लाको अनुमानित मूल्य करिब सात लाख रुपैयाँ रहेको छ । बरामद चल्ला क्वारेन्टाइन, कुखुरा व्यवसायी र जनप्रतिनिधिलगायतको उपस्थितिमा नष्ट गरिने भण्डारीले बताए ।
भारतबाट चोरबाटो हुँदै कुखुरा तथा चल्ला भित्रिने समस्या मोरङमा नयाँ भने होइन । केही वर्षयता यस क्षेत्रमा अवैध रूपमा भारतीय कुखुरा, चल्ला र कुखुराजन्य वस्तु भित्रिने गरेको व्यवसायीले गुनासो गर्दै आएका छन् । सहायक बाटो हुँदै भारतीय कुखुरा तथा चल्ला भित्र्याएर विभिन्न बजारसम्म पुर्याउने गरिएको व्यवसायीको भनाइ छ ।
सुनसरी इटहरीका पोल्ट्री व्यवसायी रमेश थापाका अनुसार भारतबाट अवैध रूपमा तयारी कुखुरा र चल्ला भित्र्याउने क्रमले नेपाली किसान र व्यवसायीलाई प्रत्यक्ष असर गरिरहेको छ । भारतबाट सस्तोमा कुखुरा तथा चल्ला ल्याएर बजारमा पुर्याउने भएपछि नेपालमा उत्पादन गर्ने किसानले लागतअनुसारको मूल्य पाउनसमेत कठिन हुने गरेको उनले बताए ।
‘भारतसँग कुनै पनि किसिमले प्रतिस्पर्धा गर्न सकिँदैन । खुला सीमाको फाइदा उठाउँदै तस्करीमा संलग्नहरूले सस्तोमा कुखुरा र चल्ला भित्र्याएर बजारसम्म पुर्याउँदा नेपाली किसान र व्यवसायी संकटमा परेका छन्,’ थापाले भने ।
उनका अनुसार सीमा क्षेत्रमा निगरानी प्रभावकारी बनाउन र अवैध आयात नियन्त्रण गर्न व्यवसायीले सरकारसँग पटकपटक माग गर्दै आएका छन् । अवैध आयातका कारण एउटा पक्ष मात्र नभई किसान, ह्याचरी, दाना उद्योग, कुखुरा व्यापारी र मासु व्यवसायसम्म असर पुग्ने उनको भनाइ छ ।
भारतबाट आउने कुखुरा तथा चल्लाको विषय मूल्यको प्रतिस्पर्धासँग मात्र जोडिएको छैन । पशुपन्छीको आयातमा पशु स्वास्थ्य तथा क्वारेन्टाइनको विषयसमेत जोडिन्छ । पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ ले आयात गरिने पशु तथा पशुजन्य सामग्रीलाई तोकिएको अवधिसम्म क्वारेन्टाइनमा राखी परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । आवश्यक स्वास्थ्य तथा रोगसम्बन्धी प्रमाणपत्र नहुँदा क्वारेन्टाइन अधिकारीले त्यस्ता पशु वा पशुजन्य सामग्रीको प्रवेश रोक्न सक्ने व्यवस्था पनि छ ।
पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ अनुसार अन्तर्राष्ट्रिय नाकाबाट पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री आयात हुँदा क्वारेन्टाइन जाँचको व्यवस्था छ । पंक्षी तथा एकदिने चल्लाका लागि समेत स्वास्थ्यसम्बन्धी प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
विराटनगरस्थित पशु क्वारेन्टाइन कार्यालयले भारतलगायत तेस्रो मुलुकबाट जोगबनी, भण्टाबारी र माडर नाकाबाट नेपाल भित्रिने पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीमा संक्रामक रोग भए–नभएको र निर्धारित मापदण्ड पूरा भए–नभएको जाँच गरी क्वारेन्टाइन प्रमाणपत्र दिने गर्छ । यसरी निर्धारित नाकाबाट स्वास्थ्य परीक्षण र क्वारेन्टाइन प्रक्रिया पूरा नगरी खेतका आली, सहायक बाटो र सीमा क्षेत्रका अन्य अनौपचारिक बाटो प्रयोग गरेर चल्ला भित्र्याउँदा पशुपंक्षीजन्य रोगको जोखिमसमेत बढ्ने छ ।
विशेषगरी कुखुरामा फैलिन सक्ने संक्रामक रोगको जोखिमका कारण अवैध आयात नियन्त्रणलाई व्यवसायीले आर्थिक विषयसँगै स्वास्थ्य सुरक्षासँग जोडेर हेर्नुपर्ने बताउँदै आएका छन् । नेपालका विभिन्न सीमावर्ती क्षेत्रमा भारतीय कुखुरा र चल्लाको अवैध आयातविरुद्ध व्यवसायीले आवाज उठाउँदै आएका छन् । व्यवसायीले भारतबाट चोरबाटो हुँदै आउने सस्तो कुखुराका कारण स्थानीय किसानले बजार र उचित मूल्य गुमाइरहेको गुनासो गरेका छन् ।
सीमावर्ती क्षेत्रमा भारतमा उत्पादित चल्ला, कुखुरा र अण्डाको आयातमा प्रतिबन्ध तथा स्वास्थ्यसम्बन्धी जोखिम हुँदाहुँदै पनि सहायक एवं चोर बाटो प्रयोग गरेर अवैध रूपमा भित्र्याउने क्रम नरोकिएको थापाले बताए । मोरङमा एकैपटक सात हजार चल्ला बरामद हुनु सीमा क्षेत्रमा भइरहेको कारोबारको एउटा दृश्य मात्र हुन सक्ने उनको आशंका छ ।
सीमा क्षेत्रमा रातको समयमा हुने ओसारपसार, सहायक बाटोको प्रयोग र बजारसम्म पुगिसकेपछि स्रोत लुकाउने प्रवृत्तिमाथि प्रभावकारी निगरानी हुन नसके अवैध कारोबार नियन्त्रण गर्न कठिन हुने देखिन्छ । किसानले उत्पादन गरेको कुखुरा तथा चल्लाले उचित मूल्य नपाउने र अवैध रूपमा भित्रिएको उत्पादनले बजार ओगट्ने अवस्था कायम रहे त्यसको असर अन्ततः नेपाली पोल्ट्री क्षेत्रको लगानी र रोजगारीसम्म पुग्ने थापाले बताए ।
सीमा क्षेत्रमा नियमित निगरानी, पशु क्वारेन्टाइनको प्रभावकारी कार्यान्वयन र अवैध आयातको स्रोतसम्म पुग्ने अनुसन्धानलाई सँगसँगै अघि बढाउनुपर्ने उनको भनाइ छ ।

























