
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग मोरङ उद्योग व्यापार संघका नवनिर्वाचित अध्यक्ष अनिलकुमार साहसहित पदाधिकारी तथा सदस्यहरूले भेटघाट गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटका क्रममा मुख्यमन्त्री कार्कीले संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
संघका अध्यक्ष साहको नेतृत्वमा भएको भेटमा कार्यसमिति सदस्य, आमन्त्रित सदस्य तथा महिला उद्यम समितिका पदाधिकारीहरूको सहभागिता थियो । मुख्यमन्त्री कार्कीले नयाँ कार्यसमितिले उद्योगी तथा व्यवसायीको हितमा उपलब्धिमूलक काम गर्न सक्ने अपेक्षा व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिए ।
भेटमा मुख्यमन्त्री कार्कीले प्रदेशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको निजी क्षेत्रको संरक्षण, प्रवर्द्धन र सहजीकरणका लागि प्रदेश सरकार सधैँ तयार रहेको बताए । उनले उद्योग–व्यवसायमैत्री नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण तथा स्थानीय उत्पादनको प्रवर्द्धनमा प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्ने उल्लेख गरे ।
निजी क्षेत्रका समस्या समाधानका लागि प्रदेश सरकार र निजी क्षेत्रबीचको साझेदारीलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले मोरङ उद्योग व्यापार संघसँग निजी क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा संयुक्त रूपमा छलफल तथा बहस गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा संघका अध्यक्ष अनिलकुमार साहले मुख्यमन्त्रीबाट प्राप्त आत्मीय आतिथ्यता तथा शुभकामनाप्रति आभार व्यक्त गरे । उनले प्रदेशको औद्योगिक तथा आर्थिक विकासमा संघले सरकारसँग सहकार्य गर्दै सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
संघका निवर्तमान अध्यक्ष अनुपम राठीले कोशी प्रदेश सरकार र निजी क्षेत्रबीच सशक्त समन्वयमार्फत औद्योगिक विकास, रोजगारी सिर्जना तथा समग्र प्रदेशको आर्थिक समृद्धिमा योगदान पुर्याउन सकिने धारणा व्यक्त गरे ।

























