
विराटनगर । विराटनगर महानगरपालिका–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले स्थानीय बासिन्दालाई सहुलियतमा उपचार सेवा उपलब्ध गराउने भएको छ ।
हस्पिटल र विराटनगर महानगरपालिका–३ नम्बर वडा कार्यालयबीच सोमबार सहुलियतमा उपचार सेवा उपलब्ध गराउने सम्झौता भएको हो । सम्झौतापछि वडाका बासिन्दाले हस्पिटलबाट उपलब्ध हुने विभिन्न स्वास्थ्य सेवामा सहुलियत पाउने भएका हुन् ।
सम्झौता पत्रमा हस्पिटलकी अध्यक्ष डा. अर्चना चौधरी र वडाध्यक्ष वासुबहादुर बस्नेतले हस्ताक्षर गरे । हस्पिटलकी अध्यक्ष चौधरीले सामाजिक उत्तरदायित्वअन्तर्गत वडाका नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले सहुलियतको व्यवस्था गरिएको बताइन् ।
वडाध्यक्ष बस्नेतले हस्पिटलसँग भएको सम्झौताबाट वडाका बासिन्दा लाभान्वित हुने बताए । उनका अनुसार स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सहुलियत दरमा उपलब्ध गराउन सम्झौता गरिएको हो । आर्या न्युरो हस्पिटल न्युरो सम्बन्धी उपचारका लागि कोशी प्रदेशमा सेवा प्रदान गर्दै आएको अस्पताल हो ।



















