
विराटनगर । मोरङको पथरीशनिश्चेरमा आयोजना हुन लागेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरीशनिश्चरे गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरण रहेको छ ।
पथरी–११ फुटबल क्लबले पथरी रंगशालामा असोज १७ देखि २४ गतेसम्म आयोजना गर्न लागेको गोल्डकपको तयारी अन्तिम चरण पुगेको क्लबका अध्यक्ष सुमन विकेले जानकारी दिए । उनका अनुसार प्रतियोगिता हेर्न आउने दर्शकका लागि प्याराफिट, मैदान व्यवस्थापनलगायतको काम अन्तिम चरणमा पुगेको छ ।
प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबका साथै भारत पश्चिम बंगालको टोलीको सहभागिता रहेको छ । गत वर्षको विजेता टोली सिरहाको सलहेस फुटबल क्लब, काठमाडौंको न्युरोड फुटबल टिम, थ्री स्टार क्लब, विभागीय टोली नेपाल पुलिस क्लब, झापा ११, रेड हर्ष इलाम र आयोजक पथरी ११ का साथै पश्चिम बंगालको युकेएफसीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख नगदका साथै ट्रफी प्राप्त गर्ने छन् ।

























