
विराटनगर । ‘मुटुको धड्कन नछुटाऔँ’ भन्ने मूल नाराका साथ आज (मंगलबार) विश्वभर विश्व मुटु दिवस मनाइँदैछ। यस अवसरमा चिकित्सकहरूले बदलिँदो जीवनशैलीका कारण मुटुरोगको जोखिम तीव्र रूपमा बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेका छन्।
विराटनगरमा नेपाल हृदय रोग निवारण प्रतिष्ठान मोरङ शाखा, कोशी अस्पताल, न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटल, नोबेल शिक्षण अस्पताल र विराट मेडिकल कलेजलगायतका संस्थाले प्रभातफेरी, स्वास्थ्य परीक्षण तथा सचेतनामूलक कार्यक्रम आयोजना गरेका छन्। मुटुरोगका जोखिम र स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको आयोजक संस्थाहरूले जनाएका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अध्ययन तथा अनुसन्धान प्रतिवेदनअनुसार नेपालमा हुने कुल मृत्युमध्ये करिब ६६ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको छ। त्यसमा सबैभन्दा ठूलो हिस्सा, करिब ३४ प्रतिशत, मुटु तथा रक्तनलीसम्बन्धी रोगको रहेको छ।
कुनै समय उमेर ढल्किएपछि वा वृद्धावस्थामा मात्र देखिने मानिएको मुटुरोग पछिल्लो समय २५ देखि ४० वर्ष उमेर समूहका युवामा समेत बढ्दै गएको अध्ययनहरूले देखाएका छन्। विराटनगरका अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये उच्च रक्तचाप, मुटुको धड्कनमा गडबडी र हृदयाघात भएका युवाको संख्या बढ्दै गएको चिकित्सकहरूले बताएका छन्।
व्यस्त जीवनशैली, बाहिरको खाना खाने बानी, अत्यधिक तेल, नुन र चिल्लोयुक्त जंकफुडको प्रयोग, लामो समयसम्म बसिरहने बानी तथा कामको तनावका कारण युवाको मुटु समयअगावै जोखिममा परेको चिकित्सकहरूको भनाइ छ।
विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटलका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. निकेशराज श्रेष्ठले अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, तनाव, धूमपान र मद्यपानले मुटुरोगको जोखिम बढाउन सक्ने बताएका छन्। पहिले वृद्धवृद्धामा बढी देखिने मुटुरोग अहिले युवापुस्तामा समेत बढ्दै गएको उल्लेख गर्दै उनले मुटु स्वस्थ राख्न दैनिक ३० देखि ४५ मिनेट व्यायाम, सन्तुलित खानपान र नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिन सुझाव दिएका छन्।
उनका अनुसार रोग लागेपछि अस्पताल धाउनुभन्दा रोग लाग्नै नदिन दैनिक जीवनशैलीमा सुधार ल्याउनु प्रभावकारी उपाय हो।
विश्व मुटु महासंघको तथ्यांकअनुसार विश्वभर हरेक वर्ष १ करोड ८६ लाखभन्दा बढी मानिसको मृत्यु मुटुरोगका कारण हुने गरेको छ। त्यसमध्ये ८० प्रतिशतभन्दा बढी मृत्यु नेपालजस्ता कम तथा मध्यम आय भएका देशमा हुने गरेको जनाइएको छ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान र राष्ट्रिय अध्ययनहरूका अनुसार नेपालका कुल वयस्क जनसंख्यामध्ये करिब २५ प्रतिशत अर्थात् प्रत्येक चार जनामध्ये एक जनामा उच्च रक्तचापको समस्या रहेको छ। यस्तै, करिब ४.७ प्रतिशत मानिस कुनै न कुनै प्रकारको मुटुरोगबाट प्रभावित छन् भने १० प्रतिशतभन्दा बढीमा मधुमेह र उच्च कोलेस्ट्रोलको समस्या देखिएको छ। बालबालिकामा समेत मोटोपन र जंकफुडको बढ्दो प्रयोग भविष्यका लागि स्वास्थ्य चुनौती बन्दै गएको चिकित्सकहरूले बताएका छन्।
चिकित्सकहरूका अनुसार दैनिक जीवनका बानीमा सुधार ल्याउन सके मुटुरोगका कारण हुने अकाल मृत्युको ठूलो हिस्सा रोक्न सकिन्छ। अत्यधिक नुन, चिनी र चिल्लो कम गर्ने, फाइबरयुक्त खाना खाने, धूमपान तथा मद्यपान त्याग्ने र मानसिक तनाव व्यवस्थापन गर्दै काम र आरामबीच सन्तुलन कायम गर्न उनीहरूले सुझाव दिएका छन्।
उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलको सुरुवाती चरणमा स्पष्ट लक्षण नदेखिन सक्ने भएकाले समय–समयमा स्वास्थ्य परीक्षण गराउनु आवश्यक रहेको चिकित्सकहरूले बताएका छन्।
विश्व मुटु दिवसको सन्देशलाई एक दिनको औपचारिक कार्यक्रममै सीमित नराखी दैनिक जीवनशैलीमै लागू गर्न सके मुटुरोगको बढ्दो जोखिम घटाउन सकिने उनीहरूको भनाइ छ।

























