
झापा । झापाको मेचीनगर नगरपालिकाले मापदण्डविपरीत सञ्चालनमा रहेका दुई अस्पताल र दुई क्लिनिकमा सिलबन्दी गरेको छ । नगरपालिकाको अनुगमन टोलीले चारआली र धुलाबारी क्षेत्रमा पुगेर ती स्वास्थ्य संस्थामा ताला लगाएको हो ।
प्रमुख प्रशासकीय अधिकृत सुभाष श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले अनुगमनका क्रममा दर्ता, नवीकरण र मापदण्ड पालनामा गम्भीर लापरबाही पाइएपछि कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
चारआलीस्थित मनोकामना अस्पताल र धुलाबारीस्थित शिखर अस्पतालले विगत एक वर्षदेखि नवीकरण नै नगरी सेवा सञ्चालन गरिरहेको पाइएकाले सिलबन्दी गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठका अनुसार मनोकामना अस्पताललाई यसअघि दर्ता र नवीकरण प्रक्रिया पूरा गर्न पटक–पटक पत्राचार गर्दा पनि निरन्तर बेवास्ता गरेपछि बाध्य भएर कारबाही गर्नुपरेको हो ।
अनुगमनका क्रममा धुलाबारीस्थित प्रतिभा जमुना मेडिकल र न्यू मिलन मेडिकलले प्रयोगशाला (ल्याब) तथा क्लिनिक दर्ता नै नगरी गैरकानुनी रूपमा सञ्चालन गरेको भेटिएको छ । प्रतिभा जमुना मेडिकलबाट म्याद गुज्रिएका औषधिहरूसमेत फेला परेकाले टोलीले ती औषधि जफत गरेको छ ।
यसैगरी, रोहन मेडिकल र मनकामना फार्मेसीमा पनि म्याद नाघेका औषधि फेला परेका छन् । ती सबै अखाद्य तथा म्याद गुज्रिएका सामग्री बरामद गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।
कानुनविपरीत सञ्चालित स्वास्थ्य संस्थालाई स्थानीय तहको अधिकार प्रयोग गरी जरिवाना गराइने नगरपालिकाले जनाएको छ । साथै, म्याद गुज्रिएका औषधि बिक्री–वितरण गर्ने फार्मेसी सञ्चालकहरूलाई थप कारबाहीका लागि औषधि व्यवस्था विभाग, क्षेत्रीय कार्यालय विराटनगरमा पत्र पठाइने प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाका अनुसार सम्बन्धित स्वास्थ्य संस्था, क्लिनिक तथा प्रयोगशालाहरूले प्रचलित कानुनबमोजिम विधिवत् रूपमा दर्ता र नवीकरण प्रक्रिया पूरा गरेपछि मात्र सिलबन्दी खोलिने छ ।

























