
मनाङ। मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेका आरोहीमध्ये थप चार जनाको शव फेला परेको छ । यससँगै हिमपहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ।
हराइरहेका आरोहीको खोजी तथा उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघको टोलीले थप चार जनाको शव फेला पारेको हो। उद्धार टोलीका प्रमुख पासाङ काजी शेर्पाले चार शव भेटिएको जानकारी दिए।
हिमपहिरोमा पुरिएका शव निकाल्ने काम भइरहेको छ। फेला परेका शवको पहिचान भने हुन बाँकी रहेको शेर्पाले बताए। यसअघि बुधबार आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला परेको थियो। त्यसअघि आइतबार र सोमबार वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो।
हिमपहिरोपछि अझै पाँच जना आरोही तथा सहयोगी सम्पर्कविहीन छन्। उनीहरूको खोजी कार्य जारी रहेको शेर्पाले जानकारी दिए। असोज ११ गते मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको थियो। हिमपहिरोमा १६ जना हराएका थिए भने आरोहणमा गएका ११ जना दोस्रो दिन सम्पर्कमा आएका थिए।

























