
काठमाडौं । आफ्ना माग सम्बोधन नभएको भन्दै छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले चरणबद्ध आन्दोलन घोषणा गरेका छन् ।
प्रोत्साहन भत्ता, समान सेवा सुविधालगायतका माग राख्दै पटक-पटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायबाट ठोस निर्णय नभएको भन्दै छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मी सङ्घर्ष समिति, कर्णाली प्रदेशले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
समितिका संयोजक डा. विशाल कार्कीले बिहीबार जारी गरेको विज्ञप्तिमा २४ घण्टे समयसीमा दिँदासमेत माग सम्बोधन नभएपछि आन्दोलनमा जान बाध्य भएको उल्लेख छ । समितिले आफ्ना जायज माग तत्काल सम्बोधन गर्न नेपाल सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ ।
घोषित कार्यक्रमअनुसार आन्दोलनको पहिलो चरणमा असोज १६ देखि १९ गतेसम्म हरेक दिन बिहान ९ देखि ११ बजेसम्म दुई घण्टा धर्ना दिने र कालोपट्टी बाँधेर काम गर्नेछन् । त्यसपछि असोज २० र २१ गते बिहानको सिफ्टमा ओपीडीलगायत गैरआकस्मिक सेवा बहिष्कार गर्ने समितिले जनाएको छ ।
यस अवधिमा पनि माग सम्बोधन नभए अत्यावश्यकबाहेकका अन्य सेवा ठप्प पार्दै अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी दिइएको छ । यद्यपि, आन्दोलनका क्रममा आकस्मिक, आईसीयू र प्रसूति सेवा भने नियमित रूपमा सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ ।

























