दुई छोरा १५ वर्षदेखि सम्पर्कविहीन, पाँच नातिनातिनाको जिम्मेवारी वृद्ध दम्पतीको काँधमा

Share this
799shares
मुलुकी खबर
रवीन्द्र बराल
clock२०८३ आश्विन १६, शुक्रबार १२:२४

रंगेली । मोरङको रंगेली नगरपालिका–९ धनजुवाका महेन्द्र ऋषिदेवको जीवनमा दुःखमाथि दुःख थपिएको छ ।

वृद्धावस्थामा आफ्नै छोराहरूको सहारा पाउनुपर्ने बेला उनीहरू १५ वर्षदेखि सम्पर्कविहीन छन् । त्यसमाथि पाँच नातिनातिनाको पालनपोषण र शिक्षाको जिम्मेवारी उनकै काँधमा छ । वर्षौँदेखि बस्दै आएको घरसमेत भत्काइएपछि महेन्द्र र उनकी श्रीमती सावित्रीदेवी ऋषिदेवको परिवार अहिले सहारा र सुरक्षित बासको खोजीमा छ ।

महेन्द्रका दुई छोरा केसीकुमार ऋषिदेव र दीपचन्द ऋषिदेव करिब १५ वर्षअघि रोजगारीको सिलसिलामा भारत गएका थिए । भारत पुगेका दुवै छोरा अहिलेसम्म घर फर्किएका छैनन् । लामो समयदेखि फोनसमेत नगरेको महेन्द्रले बताए । बुढेसकालमा सहारा बन्नुपर्ने छोराहरू नै सम्पर्कविहीन भएपछि वृद्ध दम्पती समस्याबीच जीवन गुजार्न बाध्य छन् ।

महेन्द्रकी जेठी छोरी राधादेवी ऋषिदेव पनि रोजगारीको सिलसिलामा अन्यत्रै छिन् । उनका श्रीमानको करिब दुई वर्षअघि भारतको पञ्जाबमा मृत्यु भएपछि छोरी र छोराहरु अहिले महेन्द्रकै जिम्मेवारीमा छन् । आफ्नै आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि उनले नातिनातिनाको पालनपोषणसँगै शिक्षादीक्षाको जिम्मेवारी सम्हालिरहेका छन् ।

उनकी नातिनी रेणु ऋषिदेव आमगाछिस्थित महालक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ८ मा र सोनु ऋषिदेव कक्षा ३ मा अध्ययनरत छन् । अन्य नातिनातिना सानै भएकाले घरमै रहने गरेको महेन्द्रले बताए । उनकी कान्छी छोरी रुकमणि ऋषिदेवको विवाह भइसकेको छ । उनी अन्यत्र बस्दै आए पनि समय–समयमा बुवाआमाको हेरचाह गर्छिन् ।

रंगेली–९ धनजुवामा ५० वर्षभन्दा अघिदेखि बसोबास गर्दै आएको ऋषिदेव परिवारले देवीस्थानको करिब १३ घुर ऐलानी जग्गामा घर बनाएर जीवन बिताउँदै आएको थियो । सोही स्थानमा ऋषिदेव समुदायको दिनाभद्री मन्दिर निर्माण गर्ने योजना अघि बढेपछि परिवारलाई उक्त ठाउँ खाली गर्न आग्रह गरिएको थियो ।

स्थानीयस्तरबाट पटकपटक आग्रह गर्दा पनि घर नहटाएपछि नगरपालिकाले डोजर प्रयोग गरी घर भत्काएको रंगेली–९ का वडा अध्यक्ष चुडामणि रेग्मीले बताए । रेग्मीका अनुसार महेन्द्रलाई करिब दुई वर्षदेखि उक्त स्थान खाली गर्न पटकपटक आग्रह गरिँदै आएको थियो । तर, घर नहटाएपछि अन्ततः डोजर प्रयोग गर्नुपरेको उनको भनाइ छ ।

उक्त स्थानमा दिनाभद्री मन्दिर निर्माणका लागि स्थानीयस्तरमा करिब ६० हजार रुपैयाँ संकलन भइसकेको र सोही रकमबाट निर्माण कार्य सुरु गर्ने उद्देश्यले देवीस्थानको जग्गा खाली गराइएको उनले बताए । मन्दिर निर्माणका लागि जग्गा खाली गराउने निर्णयसँगै लामो समयदेखि त्यही ठाउँमा बस्दै आएको परिवारको बास उठेको छ ।

आफ्नै नाममा जग्गा नभएको र नियमित आम्दानीको स्रोतसमेत नहुँदा महेन्द्रको परिवारको अवस्था झन् कठिन बनेको छ । महेन्द्र सामान्य ज्यालामजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएका छन् । तर, पछिल्लो समय गाउँघरमै काम पाउन मुस्किल हुन थालेपछि दैनिक छाक टार्नसमेत समस्या भएको उनले बताए ।

‘घर गएपछि कहाँ बस्ने भन्ने समस्या भयो । अहिले अर्काको जग्गामा बसेका छौँ । काम पाए मजदुरी गर्छु, काम नपाए घरमा चुलो बल्नसमेत समस्या हुन्छ,’ महेन्द्रले आफ्नो पीडा सुनाए । वृद्ध दम्पतीसहित आठ जनाको परिवारको जिम्मेवारी बोकेका महेन्द्रका लागि अहिले नातिनातिनाको भविष्य सबैभन्दा ठूलो चिन्ता बनेको छ । विद्यालय जाने बालबालिकाका लागि आवश्यक कपडा, शैक्षिक सामग्री र दैनिक खानपानको व्यवस्था गर्नसमेत कठिन भइरहेको परिवारले जनाएको छ ।

चाडपर्व नजिकिँदै गर्दा बालबालिकाको आवश्यकता पूरा गर्न नसक्ने अवस्था आएपछि परिवार थप चिन्तित बनेको छ । घर गुमाउनुको पीडा एकातिर छ भने अर्कोतिर वृद्धावस्थामा आफ्नै सन्तानको साथ र सहारा नपाउनुको दुःख छ ।

दिनाभद्री मन्दिर निर्माणका लागि ऐलानी जग्गा खाली गराइएको भए पनि त्यहाँबाट हटाइएका महेन्द्रको परिवारको वैकल्पिक बसोबास र जीविकोपार्जनको व्यवस्था हुन नसक्दा उनीहरूको समस्या थपिएको छ । अहिले महेन्द्रको परिवारलाई तत्काल खाद्यान्न, लत्ताकपडा, बालबालिकाका लागि शैक्षिक सामग्री र सुरक्षित बसोबासको आवश्यकता छ ।

दुई छोरा वर्षौँदेखि बेखबर, आफ्नै जग्गा र आम्दानीको स्रोत नभएको अवस्थामा पाँच नातिनातिना हुर्काइरहेका महेन्द्रको परिवार सहयोगी हातको प्रतीक्षामा छ । वृद्धावस्था र आराम गर्नुपर्ने उमेरमा नातिनातिनाको भविष्य एवं परिवारको चुलो कसरी बाल्ने भन्ने चिन्ताले महेन्द्रलाई छाडेको छैन । घर गुमाएका ऋषिदेव परिवारका लागि अहिले एउटा सुरक्षित छानो र दुई छाक खानाको व्यवस्था नै सबैभन्दा ठूलो आवश्यकता बनेको छ ।

तपाइको प्रतिक्रिया
टिपरको ठक्करले एक जनाको मृत्यु
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रधानमन्त्री शाहको कार्यशैलीप्रति प्रचण्डको असन्तुष्टि
चाडपर्वमा यात्रु ठगिए प्रहरीको साथ, मोरङसहित कोशीका ४८ स्थानमा यात्रु सहायता कक्ष
आईसीसी लिग–२ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा
आईसीसी लिग–२ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा
दुई छोरा १५ वर्षदेखि सम्पर्कविहीन, पाँच नातिनातिनाको जिम्मेवारी वृद्ध दम्पतीको काँधमा
कांग्रेसको युवा कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सुविनको तयारी
उदयपुर र इलाममा दुई जनाको मृत्यु
एनपीएलका लागि क्रिकेट मैदान स्तरोन्नति गरिँदै
कोशी योजना आयोगका सदस्यको शपथ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×