७ हजार ७ सय प्रतिनिधि, प्रचारमा डिजिटल मात्रै

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १६, शुक्रबार १८:०२

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा करिब ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवेशनलाई मितव्ययी र मर्यादित बनाउने भन्दै निर्वाचन समितिले प्रचारप्रसारदेखि प्रतिनिधिको व्यवस्थापनसम्म विभिन्न प्रबन्ध गरेको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार प्रतिनिधिका लागि बिहान, दिउँसो र बेलुकाको खाना भृकुटीमण्डपमै व्यवस्था गरिनेछ भने बस्ने व्यवस्था भने प्रतिनिधि आफैँले गर्नुपर्नेछ ।

देशमा विपद्को अवस्था रहेकाले महाधिवेशनमा विगतका अधिवेशनजस्तो झाँकी, तडकभडक र झकिझकाउ नहुने उनले बताए ।

यसैबीच, केन्द्रीय निर्वाचन समितिले उम्मेदवारका लागि चारबुँदे आचारसंहिता लागू गरेको छ । आचारसंहिताअनुसार भड्किलो प्रचार गर्न, फ्लेक्स, ब्यानर, पोस्टर तथा पम्प्लेट राख्न वा वितरण गर्न रोक लगाइएको छ । महाधिवेशन स्थल बाहिरका सार्वजनिक सडक तथा आसपासमा समेत भौतिक प्रचार गर्न पाइने छैन ।

उम्मेदवारले आफ्ना एजेन्डा र उम्मेदवारीका बारेमा सामाजिक सञ्जाल, अनलाइन तथा अन्य विद्युतीय माध्यमबाट मात्र प्रचार गर्न पाउनेछन् । आचारसंहिता उल्लंघन गरे नियमानुसार कारबाही हुने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले विपद्को अवस्थालाई ध्यानमा राखेर महाधिवेशनलाई अनुशासित र मितव्ययी बनाउन आचारसंहिता ल्याइएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×