
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने खालको हुनुपर्ने बताएका छन् । आज (शनिबार) ललितपुरमा सेन्ट जेभियर्स स्कुल गोदावरी र जावलाखेलको ७५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षाको उद्देश्य परीक्षा र प्रमाणपत्रमा मात्र सीमित नहुने बताए ।
‘शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित हुँदैन । शिक्षा व्यक्तिको ज्ञान, विवेक, चरित्र र जिम्मेवारीबोधको विकास गर्ने सशक्त माध्यम हो । त्यही भएर शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने हुनुपर्दछ’, उनले भने ।
नेपाल विविध भाषा, संस्कृति, परम्परा र जीवनपद्धतिले समृद्ध देश भएकाले शिक्षाले देशको विविधतालाई सम्मान गर्दै विद्यार्थीमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वको भावना विकास गर्नुपर्ने उनको भनाइ थियो । समय परिवर्तनशील भए पनि परिवर्तनसँगै आधारभूत मानवीय मूल्यहरू अझ सुदृढ हुनुपर्नेमा उनले जोड दिए ।
‘सूचना प्रविधिको द्रुत विकास भएको आधुनिक युगमा हामी कस्तो राष्ट्र निर्माण गर्न चाहन्छौँ र भोलिका लागि कस्तो जनशक्ति आवश्यक पर्छ भन्ने प्रश्नको उत्तर पनि हाम्रो शैक्षिक प्रणालीमै खोजिनुपर्छ’, राष्ट्रपति पौडेलले भने ।
त्यसका लागि प्रविधिको उच्चतम प्रयोगसँगै समयको मागअनुरूप पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्ने उनले बताए । ज्ञान र सीपसँगै नैतिकता, अनुशासन, सिर्जनशीलता, सहकार्य, करुणा र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नु आजको शिक्षाको प्रमुख दायित्व भएको उनको भनाइ थियो ।
‘साथसाथै, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने गरी स्वदेशमै उत्पादन र रोजगारीको अवस्था सिर्जना गरी हरेक नागरिकमा देशभक्तिको भावना अभिवृद्धि गर्ने शिक्षा प्रदानमा विशेष ध्यान दिनुपर्छ भन्ने म ठान्दछु’, राष्ट्रपति पौडेलले भने ।

























