
जनकपुरधाम । मधेश प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा ९२ जनाको मृत्यु भएको छ भने ५१० परिवार प्रभावित भएका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार साउन र भदौमा विपद्का घटनामा परी ४७ पुरुष, १९ महिला र २६ बालबालिकाले ज्यान गुमाएका हुन् । करेन्ट लागेर सबैभन्दा बढी ३९ जनाको मृत्यु भएको छ । पानीमा डुबेर २९, जङ्गली जनावरको आक्रमणबाट पाँच, चट्याङबाट तीन र आगलागीबाट एक जनाको मृत्यु भएको छ । अन्य घटनामा १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुई महिनामा आगलागीका ११२, करेन्ट लागेका १०७, पानीमा डुबेका ३७, जङ्गली जनावरको आक्रमणका ३२, बाढीका १२ र चट्याङका १० घटना भएका छन् । वर्षायाममा बाढी, डुबान तथा पानीमा डुब्ने घटनाबाट बालबालिका पनि प्रभावित हुने गरेका छन् ।
विपद्का घटनाबाट दुई करोड ९२ लाख ४७ हजार ५५५ रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । आगलागीबाट मात्रै रु दुई करोड ७० लाख १३ हजार ३५० बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीका कारण २१२ परिवारका घर जलेका छन् ।
बाढी तथा पहिरोबाट ११ लाख ९० हजार, चट्याङबाट तीन लाख, जङ्गली जनावरको आक्रमणबाट दुई लाख ७२ हजार र अन्य घटनाबाट चार लाख ६३ हजार बराबरको क्षति भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले आगलागी, करेन्ट तथा डुबानजन्य घटना न्यूनीकरणका लागि पूर्वसावधानी र जनचेतना आवश्यक रहेको बताए । विपद्का समयमा उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत व्यवस्थापनका लागि स्थानीय प्रशासन, स्थानीय तह र सुरक्षा निकायबीच समन्वय हुँदै आएको उनले बताए ।
प्रहरीका अनुसार दुई महिनाको अवधिमा विपद् व्यवस्थापन तथा उद्धारका लागि दुई हजार ८६९ प्रहरी परिचालन गरिएको छ । मधेशका आठवटै जिल्लामा सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ ।

























