
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो फेसबुक अकाउन्ट करिब आधा घण्टाका लागि ह्याक भएको बताएका छन् ।
आइतबार दिउँसो फेसबुकमार्फत जानकारी दिँदै खड्काले शुभचिन्तकहरूले तत्काल खबर गरेपछि जाँच गरी आफ्नो अकाउन्ट पुनः सुरक्षित बनाइएको बताएका हुन् ।
ह्याक भएको अवधिमा आफ्नो फेसबुक वालबाट कुनै गलत वा आपत्तिजनक पोस्ट भएको भए त्यसलाई अन्यथा नलिन उनले आग्रह गरेका छन् ।
खड्काले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो फेसबुक कसैले केही समय (करिब आधा घण्टा जति) ह्याक गरिदिएको बुझियो । तत्काल शुभचिन्तकहरूले जानकारी गराएकोले चेक गर्न लगाएर ठीक गर्न लगाइयो ।’
उनले उक्त अवधिमा आफ्नो फेसबुकबाट गरिएका कुनै पनि गलत पोस्टप्रति भ्रममा नपर्न तथा त्यसलाई अन्यथा नलिन सबै साथी तथा शुभचिन्तकसँग अनुरोध गरेका छन् ।

























