
विराटनगर । मोरङको जहदा गाउँपालिका–१ कुडरियाबाट सशस्त्र प्रहरीले ८४ किलोभन्दा बढी गाँजा बरामद गरेको छ । ८४ किलो ८५० ग्राम गाँजा बरामद भएको सशस्त्रले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बीओपी तारेगामाबाट खटिएको गस्ती टोलीले सोमबार बिहानका राति ३ः१० बजेतिर टाउकोमा बोरा बोकेर हिँडिरहेका व्यक्तिलाई देखेपछि रोक्न खोजेको थियो । गस्ती टोलीलाई देखेपछि उनीहरु बोरा फालेर फरार भएका थिए ।
प्रहरीका अनुसार गस्ती टोलीले उक्त बोरा खोली हेर्दा प्रतिबन्धित गाँजा फेला परेको थियो । बरामद गाँजा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्रले जनाएको छ ।
गाँजा फालेर फरार भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान सुरु गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

























