
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ । महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले पार्टीको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।
केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार यसअघि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्य तालिका रहे पनि वर्षा र केही प्राविधिक समस्याका कारण तीन घण्टा ढिला गरी मतदान सुरु गर्न लागिएको हो ।
मतदानका लागि काठमाडौंका तीन स्थानमा सात वटा मतदान केन्द्र तोकिएका छन् । प्रतिनिधिहरूलाई सहज हुने गरी प्रदेश तथा प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार राष्ट्रिय सभागृह, खुलामञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठान भवनमा मतदान केन्द्र तोकिएको छ । राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको छ। यस्तै, प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ। सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले आफूलाई तोकिएको मतदान केन्द्रमै पुगेर मतदान गर्नुपर्नेछ।
निर्वाचन समितिका संयोजक खड्काका अनुसार मतदानअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्र प्रतिनिधिले मतदान गर्न पाउने व्यवस्था गरिएको छ । कांग्रेस महाधिवेशनबाट सभापतिसहित नयाँ केन्द्रीय कार्यसमिति चयन हुनेछ। मतदानपछि मतगणना गरी परिणाम सार्वजनिक गर्ने प्रक्रिया अघि बढाइने निर्वाचन समितिले जनाएको छ।

























