चाडपर्वमा सशस्त्र प्रहरीको कडा सुरक्षा

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २३, शुक्रबार ०७:२२

काठमाडौं । चाडपर्वमा हुनसक्ने अपराध नियन्त्रण, सीमा सुरक्षा र सडक दुर्घटनामा तत्काल उद्धारका लागि सशस्त्र प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा बनाएको छ । बडादसैँ, तिहार, नेपाल सम्वत् र छठलाई लक्षित गरी २८ हजार १२६ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीका अनुसार थप ४ हजार ५०० जनशक्तिलाई आवश्यकताअनुसार तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ । चाडपर्वमा यात्रुलाई सहयोग पुर्‍याउन १४१ स्थानमा नागरिक सहायता कक्ष, १६ स्थानमा स्वास्थ्य कक्ष र १३ स्थानमा पर्यटक सहायता कक्ष सञ्चालन गरिएको छ । सडक दुर्घटनापछि तत्काल उद्धार गर्न ३७ स्थानमा एम्बुलेन्ससहितका टोली खटाइएको छ ।

सीमा क्षेत्रमा अवैध हातहतियार, विस्फोटक पदार्थ र लागुऔषध ओसारपसार नियन्त्रण गर्न संयुक्त गस्ती तथा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । सीमा सुरक्षाका लागि ९२४ वटा संयुक्त गस्ती सञ्चालन गर्ने योजना छ ।

संवेदनशील क्षेत्रको निगरानी गर्न २१ वटा ड्रोन प्रयोग गरिएको छ । सीमा नाकाका ४१२ वटा सीसीटीभी क्यामेराबाट चौबिसै घण्टा निगरानी गरिने कार्कीले बताए ।

विपद् उद्धारका लागि देशभरका अस्थायी र स्थायी बेसमा दक्ष जनशक्ति तथा आवश्यक उपकरण तयारी अवस्थामा राखिएको छ । सशस्त्र प्रहरीले चाडपर्व अवधिभर गस्ती, चेकजाँच र उद्धार कार्यलाई निरन्तरता दिने जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×