
इलाम । इलाममा घरभित्र लुकाएर राखिएको भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । माईजोगमाई गाउँपालिका–४ का ६० वर्षीय पूर्णबहादुर देवानलाई प्रहरीले एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार देवानले भरुवा बन्दुक लुकाइछिपाई राखेको विशेष सूचना प्राप्त भएपछि प्रहरी चौकी नाम्सालिङबाट शनिबार खटिएको टोलीले उनको घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा घरभित्र लुकाएर राखिएको अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।
बन्दुक फेला परेपछि प्रहरीले देवानलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका देवानमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























