चाडपर्वमा विशेष सुरक्षा प्रदान गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २५, आइतबार १३:४९

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नजिकिँदै गरेको महान चाडपर्वहरूको समयमा कुनै पनि आपराधिक क्रियाकलापका घटना हुन नदिन र विशेष सुरक्षा योजना अवलम्बन गर्न निर्देशन दिएका छन् । उनले चाडपर्वलक्षित सुरक्षा योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिए ।

प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमबाट प्रहरी कर्मचारीलाई निर्देशन दिँदै कार्कीले चाडपर्वको बेला अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता ख्याल गर्न अनुरोध गरे। कार्कीले लुटपाट, चोरी लगायत कुनै पनि आपराधिक क्रियाकलापका घटनामा समयमै सम्बोधन गर्न प्रभावकारी रुपमा प्रहरी परिचालन गर्नुपर्ने बतँए। उनले प्रहरी कर्मचारीहरू उच्च व्यावसायिकता प्रदर्शन गर्दै नागरिकको समस्या सम्बोधन गर्न थप सक्रिय हुनुपर्ने बताए ।

आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवम् सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए ।

कार्कीले सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी चेतनामूलक कार्यक्रम, सामाजिक सद्भावमा खलल पार्न सक्ने कुनै पनि घटनाप्रति थप सचेत भई कार्य गर्नुपर्नेमा जोड दिए । सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि एवम् तस्करी नियन्त्रण र फरार प्रतिवादी पक्राउलाई समेत प्राथमिकतामा राखी थप सक्रिय भई कार्यसम्पादन गर्नका लागि सूचना संकलन तथा विश्लेषणमा प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने उनले बताए ।

कार्कीले व्यावसायिक मर्यादा र अनुशासनको पूर्ण पालना गरी प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालको प्रयोगमा थप संवेदनशील हुनुपर्ने बताए । साथै प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरूले अनुगमन, सुपरीवेक्षण र निरीक्षण गरी भएका कमी कमजोरी र त्रुटीहरूलाई समयमै सुधार गर्नुपर्ने उनले बताए ।

उक्त निर्देशनको क्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत मुद्दा चल्ने इकाईसम्मका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×