
विराटनगर । विराटनगरमा भएको २६ औँ राष्ट्रिय आइटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको छ । प्रतियोगितामा १७ स्वर्ण पदकसहित आर्मीको टोली पहिलो भएको हो ।
प्रतियोगितामा आर्मीले १७ स्वर्ण, ६ रजत, ५ कांस्यसहित कुल २८ पटक हात पारेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले जानकारी दिए । त्यसैगरी, अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ भने १० स्वर्ण, १० रजत र ६ कांस्यसहित कुल २६ पदकका साथ दोस्रो भएको छ । लुम्बिनी प्रदेश ५ स्वर्ण, ६ रजत र ८ कांस्यसहित कुल १९ पदक हासिल गर्दै तेस्रो भयो ।
प्रतियोगिताको चौथो स्थानमा रहेको बागमती प्रदेशले २ स्वर्ण, ६ रजत र १० कांस्य गरि कुल १८ पदक हात पार्न सफल भयो । घरेलु टोली कोशी प्रदेश भने १ स्वर्णसहित तालिकाको पाँचौँ स्थानमा सीमित भएको छ । कोशीले एक स्वर्ण, ५ रजत र ११ कांस्य पदक गरी १७ पदक प्राप्त गर्यो । प्रतियोगितामा सहभागी सुदूरपश्चिम प्रदेश पदकविहीन रहेको थियो ।
यद्यपि, कर्णाली प्रदेशले ६ कांस्य र मधेश प्रदेशले ५ कांस्य मात्र जित्न सफल भए । गण्डकी प्रदेशले भने २ रजत र ९ कांस्य गरी ११ पदक प्राप्त गरेको थियो । मधेश, गण्डकी र कर्णालीको टोली पनि स्वर्ण पदकविहीन रहेका थिए । प्रतियोगिताअन्तर्गत टिम विजेतामा विभागीय टोली आर्मी पहिलो, सशस्त्र प्रहरी बलको एपीएफ दोस्रो र लुम्बिनी प्रदेश तेस्रो रहयो ।
त्यसैगरी, आर्मीका भीम बहादुर उत्कृष्ट पुरुष खेलाडी र लुम्बिनीकी अपेक्षा श्रेष्ठ महिलातर्फको उत्कृष्ट खेलाडी घोषित भइन् । १ सय ५३ जना खेलाडीले स्पर्धा गरेको प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले भने सहभागिता नजनाएको आयोजक मोरङ जिल्ला (आइटीएफ) तेक्वान्दो संघले जनाएको छ।



















