
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि एक महिलालाई ज्यान मार्ने र आर्थिक असुलीसहितको धम्की दिएको भनिएको अडिओ सार्वजनिक भएपछि प्रहरीले आन्तरिक अनुसन्धान थालेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार सार्वजनिक अडिओको सत्यता, त्यससँग सम्बन्धित अन्य विवरण र महिलाको अवस्थाबारे अनुसन्धान भइरहेको छ । अडिओ परीक्षण गर्न सकिने प्रहरीले जनाएको छ ।
काफ्लेका अनुसार अहिलेसम्म यस विषयमा कानुनी प्रक्रिया पूरा गरी औपचारिक उजुरी परेको छैन । उजुरी परेपछि औपचारिक अनुसन्धान अघि बढाइने उनले बताए । सांसद सुनारले भने उक्त अडिओ कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएको भन्दै प्रतिवाद गरिरहेका छन् ।
सुनार यसअघि पनि विभिन्न कसुरमा प्रहरी अनुसन्धानमा परेका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतले २०८० असार ३ गते स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको कसुरमा उनीमाथि अनुसन्धान गरेको थियो । यस्तै, इलाका प्रहरी कार्यालय सुर्खेतले २०८१ असार ७ गते आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय काभ्रेले २०८२ असार ३ गते विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो । उक्त मुद्दा विचाराधीन रहेको र त्यसमा सुनारविरुद्ध पक्राउ पुर्जीसमेत रहेको जनाइएको छ ।
विवाहित सांसद सुनारमाथि अर्की विवाहित महिलालाई विवाह गर्ने आश्वासन दिएर आर्थिक शोषण गरेको आरोपसमेत लागेको छ । उक्त आरोप सार्वजनिक भएपछि रास्वपाले उनलाई सार्वजनिक कार्यक्रममा सहभागी नहुन र सार्वजनिक अभिव्यक्ति नदिन निर्देशन दिएको जनाइएको छ ।
सांसद सुनारमाथि राष्ट्रिय अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ । विभाग स्रोतका अनुसार सुनारले विभागमा कार्यरत एक सहायक सूचकसँग प्रेम विवाह गरेका थिए । ती महिला यसअघि विभागमै कार्यरत अर्का सहायक सूचकसँग विवाहित रहेको र सम्बन्धविच्छेदपछि सुनारसँग विवाह गरेको स्रोतको भनाइ छ ।

























