पर्यटक भिसामा मोरङ आएर धर्म प्रचार, २४ कोरियालीलाई तीन वर्ष नेपाल प्रवेशमा रोक

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २९, बिहीबार ०६:३०

विराटनगर । पर्यटक भिसाको दुरुपयोग गर्दै मोरङमा धार्मिक प्रशिक्षण तथा पास्टर उत्पादनसम्बन्धी गतिविधिमा संलग्न भएको आरोपमा २४ जना दक्षिण कोरियाली नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ ।

अध्यागमन विभागले उनीहरूको भिसा रद्द गरी जनही ५० हजार रुपैयाँ जरिबाना असुल गर्नुका साथै तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने निर्णय गरेको हो । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मालाती मार्गस्थित ‘नेपाल न्यू कोभेनेन्ट कलेज’मा धार्मिक प्रशिक्षण, गोष्ठी र दीक्षान्त समारोह सञ्चालन भइरहेको सूचनापछि प्रहरीले उनीहरूमाथि निगरानी बढाएको थियो । सोही क्रममा नियन्त्रणमा लिइएका उनीहरूलाई आवश्यक कारबाहीका लागि काठमाडौंस्थित अध्यागमन विभागमा पठाइएको थियो ।

जिल्ला प्रशासन कार्यालय मोरङले असोज २३ गते २४ जना कोरियाली नागरिकलाई अध्यागमन विभागमा उपस्थित गराएको थियो । विभागले गरेको अनुसन्धानका क्रममा उनीहरूको भिसाको अवधि बाँकी रहे पनि पर्यटक भिसामा गर्न नपाइने धार्मिक शिक्षा, प्रचार तथा प्रशिक्षणसम्बन्धी गतिविधिमा संलग्न भएको पाइएपछि भिसा रद्द गरिएको जनाइएको छ ।

अध्यागमन विभागका अनुसार उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना गराएर नेपालबाट निष्कासन गरिएको हो । नेपालबाट प्रस्थान गरेको मितिले तीन वर्षसम्म पुनः प्रवेश गर्न नपाउने गरी प्रतिबन्धसमेत लगाइएको छ । निष्कासनमा पर्नेमा दक्षिण कोरियास्थित ‘लभ नेपाल मिसन’का प्रमुख डा. पार्क गुइ ह्वानसहित २४ जना रहेका छन् ।

उक्त समूह असोज २० र २१ गते काठमाडौं हुँदै बुद्ध र यति एयरलाइन्सबाट दुई समूहमा विराटनगर विमानस्थल आएको थियो । पहिलो दिन १६ जना र दोस्रो दिन आठ जना विराटनगर आएको पत्ता लागेको हो । विमानस्थलबाट उनीहरू सिधै सुन्दरहरैँचा–७ स्थित नेपाल न्यू कोभेनेन्ट कलेज पुगेका थिए ।

समूहका छ जना सुन्दरहरैँचा–९ स्थित नेपालरिका होटलमा र बाँकी १८ जना कलेजको छात्रावासमा बसेका थिए । उनीहरूले अक्टोबर १२ सम्म विभिन्न चरणका धार्मिक गोष्ठी, प्रशिक्षण र दीक्षान्त समारोह सञ्चालन गर्ने योजना बनाएको विवरणमा उल्लेख छ । तर, स्थानीय र सुरक्षा निकायको सक्रियतापछि उनीहरूको योजना अघि बढ्न सकेन ।

सुन्दरहरैँचा–७ मा रहेको नेपाल न्यू कोभेनेन्ट कलेज करिब एक बिघा एक कठ्ठा क्षेत्रफलमा फैलिएको छ । दुईतले पक्की भवन र २२ कोठाको संरचना रहेको उक्त संस्थामा ‘बाइबेल एकेडेमी’का नाममा धार्मिक शिक्षासम्बन्धी विभिन्न पाठ्यक्रम सञ्चालन हुँदै आएको बताइएको छ । संस्थामा सर्टिफिकेट अफ थियोलोजी, ब्याचलर्स अफ थियोलोजी र मास्टर्स अफ थियोलोजीलगायतका पाठ्यक्रम पढाइने गरेको विवरणमा उल्लेख छ ।

उक्त कलेजमा ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको र तीमध्ये करिब ४५ जना विपन्न परिवारका विद्यार्थीलाई छात्रावासमा राखेर धार्मिक शिक्षा प्रदान गरिँदै आएको छ । संस्थाले सरकारी शैक्षिक निकायबाट आवश्यक अनुमति नलिएको र ‘रत्न बाप्टिस फाउन्डेसन’ नामक सामाजिक तथा धार्मिक गुठीका रूपमा दर्ता भएको पाइएको छ ।

संस्था दक्षिण कोरियास्थित ‘लभ नेपाल मिसन’को आर्थिक सहयोगमा सञ्चालन भइरहेको बताइएको छ । यसको व्यवस्थापनमा सुनसरीको धरानका महेन्द्र गंग सचाइ राई तथा दुहबी–५ का डा. शरद केसीलगायत व्यक्तिहरू संलग्न रहेको विवरणमा उल्लेख छ ।

सुरक्षा निकायको प्रारम्भिक अनुसन्धानले मोरङको उत्तरी क्षेत्रका सुन्दरहरैँचा, लेटाङ र मिक्लाजुङलगायत स्थानमा विदेशी नागरिकको लगानी तथा संलग्नतामा चर्च, संस्था र धार्मिक शिक्षालय सञ्चालन भइरहेको हुन सक्ने देखाएको छ । ती संस्थामार्फत पास्टर उत्पादन गर्ने गतिविधि र सम्भावित सञ्जालबारे समेत अनुसन्धान भइरहेको जनाइएको छ ।

यसअघि २०८० चैत २० गते पनि ३९ जना दक्षिण कोरियाली नागरिक पर्यटक भिसामा नेपाल आएर सोही कलेजको दीक्षान्त समारोहमा सहभागी भएका थिए । त्यसबेला दुई जना कोरियाली नागरिकलाई पठनपाठनका लागि नेपालमै छाडेर बाँकी सदस्य फर्किएको विवरणमा उल्लेख छ ।

नेपालको प्रचलित अध्यागमन कानुनअनुसार विदेशी नागरिकले पर्यटक भिसामा आएर भिसाको उद्देश्यविपरीत गतिविधि गर्न पाउँदैनन् । पछिल्लो घटनाले विदेशी नागरिकको भिसा प्रयोग, धार्मिक संस्थाको सञ्चालन तथा शैक्षिक गतिविधिको वैधानिकतामाथि प्रश्न उठाएको छ । निगरानी र नियमन गर्नुपर्ने अवस्था आएको छ ।

पर्यटक भिसामा मोरङ आएर धार्मिक गतिविधि, दक्षिण कोरियाका २४ नागरिक प्रहरी नियन्त्रणमा (नामावलीसहित)

तपाइको प्रतिक्रिया
९८ जना आरोहीलाई ३१ हिमाल आरोहणका लागि अनुमति
शिक्षा सुधारका लागि सातै प्रदेशमा कार्यशाला, बजेट विनियोजनमा जोड
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
विराटनगरबाट खैरो हेरोइनसहित दुई युवक पक्राउ
झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
धरानमा लागुऔषधका मुद्दा सर्वाधिक, तीन वर्षमा ४०६ घटना प्रहरीमा दर्ता
कांग्रेसको दलित सहमहामन्त्रीमा प्रकाश रसाइलीको शानदार जित
डढेलोले दक्षिणपूर्वी एसिया प्रभावित, सिंगापुरमा प्रदूषण उच्च
रास्वपामा टिकटको नयाँ सूत्र : उम्मेदवार छनोटमा ४० प्रतिशतसम्म सदस्यको मत
विभिन्न प्रदेशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
पर्यटक भिसामा मोरङ आएर धर्म प्रचार, २४ कोरियालीलाई तीन वर्ष नेपाल प्रवेशमा रोक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×